काठमाडौं । युएईमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीच फाइनल खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
चेन्नई र कोलकाता आज उपाधि चुम्ने योजनासहित मैदान उत्रने छन् । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई चौंथो पटक आईपीएलको उपाधि जित्ने योजनामा हुनेछ । यस्तै, इयान मोर्गनको कप्तानीमा रहेको कोलकाता भने तेस्रो पटक आईपीएलको उपाधि जित्ने लक्ष्यमा रहेको छ ।
उत्कृष्ट प्रदर्शन गरिरहेको चेन्नई पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराएर फाइनल पुगेको हो । कोलकाताले पनि दोस्रो क्वालिफायरमा दिल्लीलाई नै हराएको थियो ।
पछिल्लो पाँच भेटमा चेन्नईले ४ जित निकाल्दा एक मात्र जित कोलकाताले निकालेको छ । यसै वर्षको पछिल्लो दुई भेटमा चेन्नईले बाजी मारेको थियो । लिग चरण अन्तर्गत भएको पहिलो खेलमा चेन्नईले १८ रनको जित निकालेको थियो । यस्तै, दोस्रो खेलमा चेन्नईले २ विकेटको जित निकालेको थियो ।
कोलकाताविरुद्ध चेन्नई उक्त जितलाई कायम राख्ने योजनामा हुनेछ । कोलकाता भने चेन्नईविरुद्ध फाइनलमा बदला लिन चाहन्छ ।