बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

साफ च्याम्पियनसिप : श्रीलंकालाई पराजित गर्दै नेपाल शीर्ष स्थानमा

मंगलबार, असोज १९ २०७८

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३–२ ले पराजित गरेको हो ।

नेपालका लागि सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे । यस्तै, श्रीलंकाका लागि मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल गरे ।

खेलको ३३ औं मिनेटमा सुमनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । ५१ औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई दोब्बर अग्रता दिलाए । ५७ औं मिनेटमा ह्यामिल्टनले गोल गर्दै श्रीलंकालाई २–१ को स्थितिमा ल्याए । ८६ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका घलानले गोल गर्दै नेपाललाई ३–१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा डी सिल्भाले पेनाल्टीमा गोल गरेपनि खेल नेपालले ३–२ ले जित्यो ।

जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले २ खेलमा ६ अंक जोडेको छ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको थियो ।

श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंका बंगलादेशसँग १–० ले पराजित भएको थियो । सोमबारको पहिलो खेलमा बंगलादेशले उपाधिको दावेदार भारतलाई बराबरीमा रोकेको थियो । दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सिमित भएर खेलेको बंगलादेशले भारतलाई १–१ को बराबरीमा रोकेको हो ।

अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार