बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

च्याम्पियन्स लिग फुटबल : बार्सिलोनाको लज्जास्पद हार, रोनाल्डोको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेड विजयी

बिहिबार, असोज १४ २०७८

काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ । बार्सिलोनाले पोर्चुगिज क्लब बेन्फिाकासँग ३–० को हार व्यहोरेको हो ।

बेन्फिकाको जितमा डार्विन नुनेजले दुई तथा राफा सिल्भाले एक गोल गरे । बेन्फिकाले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल थपेको थियो ।

खेलको तेस्रो मिनेटमा नै बेनफिकाले डार्विन नुनेजको गोलबाट अग्रता लिएको थियो । उनले जुलियन वेगलको पासमा गोल गरेका थिए । ६९औं मिनेटमा राफा सिल्भाले जोओ मारियोको पासमा गोल गर्दै बेन्फिकाको अग्रता दोब्बर पारे ।

७९औं मिनेटमा डार्विन नुनेजले पेनाल्टीमार्फत गोल गर्दै बेन्फिकाको जित पक्का गरे । ८७औं मिनेटमा एरिक गार्सिया दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।

यस समूहमा बेन्फिकाले पहिलो जित निकालेको हो । पहिलो खेलमा डिनामो किएभसँग गोलरहित बराबरी खेलेको बेन्फिकाले बार्सालाई हराउँदै ३ अंक जोडेको छ । बार्सिलोनाको भने यो दोस्रो हार हो । यसअघि बार्सिलोनाले बायर्न म्युनिखसँग पराजित भएको थियो ।

जीतपछि २ खेलमा ४ अंक भएको बेन्फिका दोस्रो स्थानमा रहेको छ । दोस्रो जीतसँगै बायर्न भने शीर्षस्थानमा रहँदा डाइनामो किभ १ अंक जोडेर तेस्रो स्थानमा छ । अंकविहिन रहेको बार्सिलोना पुछारमा छ ।

रोनाल्डोको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेड विजयी

युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले भिल्ला रियललाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम मिनेटमा गरेको निर्णायक गोलमा युनाइटेड २-१ गोल अन्तरले विजयी भएको हो ।

युनाइटेडका लागि एलेक्स टेलेजले खेलको ६०औ मिनेटमा गोल गरेका थिए भने रोनाल्डोले खेलको ९५औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै भिल्ला रियलका लागि खेलको ५३औ मिनेटमा पाको अल्कासेरले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

योखेलसँगै रोनाल्डो च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा बढी १७८ खेल खेल्ने खेलाडी बनेका छन् । उनले यस अघि इकर कासीलासको १७७ खेलको रेकर्डलाई बराबरी गरेका थिए ।

त्यस्तै रोनाल्डो च्याम्पियन्स लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् । उनले अहिलेसम्म १३६ गोल गरेका छन् ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको समुह एफ मा २ खेलमा ३ अंक भएको छ । त्यस्तै भिल्ला रियलको भने २ खेलमा एक अंक रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार