शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

दार्चुला घटनामा कूटनीतिक पहल गर्न परराष्ट्रमा पत्राचार, घटनाबारे जानकारी नभएको भारतको भनाई

शुक्रबार, भाद्र १८ २०७८

काठमाडौं(जस)–भारतीय सीमा सुरक्षा बल (एसएसबी) को उपस्थितिमा दार्चुलामा तुइन तर्ने क्रममा खसेर जयसिंह धामी बेपत्ता भएको छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कूटनीतिक पहल गर्न गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । उक्त घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको दोस्रो दिन आज मन्त्रालयले आवश्यक कूटनीतिक पहलका लागि परराष्ट्रमा पत्र पठाएको गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थितिमा दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामी मालघाटबाट तुइन तर्ने क्रममा तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको प्रतिवेदन मङ्गलबार गृहमा बुझाएको थियो ।
उक्त घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयका अनुसार समितिले घटनाको अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने सन्दर्भमा भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न सिफारिस गरेको थियो । ‘सोही प्रतिवेदनका आधारमा परराष्ट्रलाई कूटनीतिक पहलका लागि अनुरोध गरिएको छ’, गृह प्रवक्ता पोखरेलले भने । प्रतिवेदनले आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको उचित व्यवस्थापन गर्न सिफारिस समेत गरेको छ ।
छानबिन समितिबाट मङ्गलबार प्रतिवेदन बुझ्दै गृहमन्त्री बालकृष्ण खाँणले त्यसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको आश्वासन दिएका थिए । उनले प्रतिवेदन तत्कालै कार्यान्वयनको प्रक्रिया थाल्न गृहसचिव टेकनारायण पाण्डेलाई निर्देशन दिए । उक्त घटनाको अध्ययनका लागि मन्त्रालयले गत साउन १७ गते सहसचिव जनार्दन गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य रहेको समिति गठन गरेको थियो ।
गत साउन १७ गते गठित उक्त समितिलाई मन्त्रालयले १० दिनको कार्यादेश दिए पनि छानबिन नसकिएकाले समितिको म्याद भदौ १ र ८ तथा साउन २५ गते गरी तीन पटक थप गरेको थियो । साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ स्थित तुइन तरेर भारत हुँदै जिल्ला सदरमुकाम खलङ्गा आउने क्रममा तुइनको लठ्ठासँगै खसेर धामी नदीमा बेपत्ता भएका थिए ।
घटनाबारे जानकारी नभएको भारतको भनाई
दार्चुलामा तुइन काटिएको घटनाको बारेमा स्थलगत अध्ययन सकेर नेपालले तयार पारेको प्रतिवेदनलाई भारतले नेपालको आन्तरिक प्रतिवेदन भन्दै त्यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरबिन्दम बाग्छीले यस घटनाका सम्बन्धमा मिडिया रिपोर्ट देखेको र आधिकारिक रुपमा आफूसँग कुनै पनि जानकारी नभएको प्रतिक्रिया दिए । उनले भारतीय सीमा सुरक्षा बलको संलग्नता छ भन्ने विषय आरोप मात्र भएको उल्लेख गरे ।
‘यो त आरोप न हो । मैले मिडिया रिपोर्ट देखेको हुँ । यस विषयमा हामीलाई कुनै खबर आएको छैन, यस विषयमा विस्तृत जानकारी मेरो सामू आएको छैन् । आन्तरिक छानबिनबारे मसँग जानकारी छैन’ उनले भने । दार्चुलाको ब्याँस गाउँपालिका–२ का जयसिंह धामी गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा तुइनबाट पानीमा खसेर बेपत्ता भएका थिए ।
उक्त घटनामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएको प्रत्यक्षदर्शीले बताएका छन् । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले मंगलबार दिएको प्रतिवेदनमा एसएसबीको उपस्थितिमा घटना भएको उल्लेख गरिएको छ । समितिले उक्त घटनामा एसएसबीको उपस्थितिबारे अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार