शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

दार्चुला तुइन प्रकरणमा छानविन समितिको प्रतिवेदन : एसएसबीको उपस्थितिमै घटना

बुधबार, भाद्र १६ २०७८

काठमाडौं(जस)–दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित छानबिन समितिले आफ्नो प्रतिवेदन मंगलबार गृह मन्त्रालयमा बुझाएको छ । पटकपटक म्याद थप हुँदासमेत प्रतिवेदन बुझाउन नसकेको भनेर आलोचना खेपेको समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले त्यसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले प्रतिवेदन कार्यान्वयनको प्रक्रिया थाल्न गृहसचिव टेकनारायण पाण्डेलाई निर्देशन दिए ।
नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री खाँणले स्थलगतरूपमा पुगेर तयार पारिएको प्रतिवेदनले नागरिकमा विश्वास जगाउनेमा आशावादी रहेको बताए । संवेदनशील विषयमा तयार पारिएको प्रतिवेदन आगामी दिनका लागि पनि मार्गदर्शन बन्ने मन्त्री खाँणको विश्वास थियो । प्रतिवेदनमा समेटिएका कतिपय सुझावलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने भएमा त्यसका लागि मन्त्रालय तयार रहेको पनि उनले बताए । मन्त्री खाँणले तत्काल कार्यान्वयन गर्न भन्दै उक्त प्रतिवेदन गृहसचिव पाण्डेलाई हस्तान्तरण गरे ।
एसएसबीको उपस्थितिमै घटना
दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामीको स्थानीय मालघाटबाट तुइन तर्ने क्रममा तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थिति देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । समितिले बुझाएको प्रतिवेदनले उक्त घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएको औँल्याएको गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
समितिले घटनाको अनुसन्धान गरी दोषीउपर कानुनी कारवाही गर्न र धामीका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने सन्दर्भमा भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न पनि सिफारिस गरेको मन्त्रालयले जनाएको छ । यस्तै आश्रित परिवारलाई नेपाल सरकारको तर्फबाट पालनपोषण र शिक्षादीक्षाको उचित व्यवस्थापन गर्न सिफारिस गरिएको छ । गृहमन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा साउन १७ गते छानबिन समिति गठन गरेको थियो । घटना भने साउन १५ मा भएको थियो ।
उक्त घटनाको अध्ययनका लागि मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य रहेको समिति गठन गरेको थियो । गत साउन १७ गते गठित उक्त समितिलाई सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न मन्त्रालयले १० दिनको कार्यादेश दिएको थियो । साउन १८ गते टोली स्थलगत अध्ययनका लागि त्यसतर्फ गएको थियो । छानबिन नसकिएकाले मन्त्रालयले समितिको म्याद तीनपटक थप गरेको थियो । यसअघि गएको साउन २५ तथा भदौ १ र ८ गते समितिको म्याद थप गरिएको थियो । साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ स्थित तुइन तरेर भारत जाने क्रममा खसेर धामी नदीमा बेपत्ता भएका थिए । पीडितपक्ष तथा स्थानीयवासीले भने भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिएका कारण खसेको आरोप लगाएका छन् भने कतिपयले डोरी फुस्काइदिँदा नदीमा खसेको बताउँदै आएका छन् ।
दुर्घटना अनुसनधान प्रतिवेदन पनि बुझाइयो
नवलपरासी (पश्चिम)मा मोटरसाइकलको ठक्करबाट इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक कपिल वाग्लेको गत साउन २५ गते भएको मृत्युबारे छानबिन गर्न गठित समितिले पनि मंगलबारै आफ्नो प्रतिवेदन बुझाएको छ । गत साउन २९ मा मन्त्रिस्तरीय निर्णयबाट सहसचिव सुनिल खनालको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिमा अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरी सदस्य थिए । उक्त प्रतिवेदन पनि कार्यान्वयन गर्न मन्त्री खाँणले निर्देशन दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार