बारा(जस)–जिल्ला प्रशासन कार्यालय बाराले एकद्वार प्रणालीले राहत वितरण गर्ने निर्णय गरेको छ । बिहिबारदेखि व्यक्ति वा संघसंस्थाले जिल्ला विपद व्यवस्थापन समितिको सिफारिसअनुसार मात्रै राहत वितरण गर्न सक्ने जिल्ला प्रशासन कार्यालय बाराका सूचना अधिकारी मुरारी कार्कीले जानकारी गराए ।
हावाहुरी प्रभावित बाराको विभिन्न क्षेत्रमा एकद्वार प्रणालीले राहत वितरण नहुँदा पीडितले पाउन नसकेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले राहत वितरणमा कडाइ गरेको हो । जिल्ला प्रशासन कार्यालयमा हेल्प डेस्क स्थापना गरेर राहत वितरणका लागि सिफारिस गर्न थालिएको प्रशासकीय अधिकृत कार्कीले बताए ।
जिल्ला प्रशासन कार्यालयले हावाहुरी प्रभावित क्षेत्रमा प्रवेश गर्ने बाटोमा राहत वितरणका लागि जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नुपर्ने व्यवहोरासहितको ब्यानर राख्नुका साथै सुरक्षाकर्मी खटाएको छ । बिहिबारदेखि कुनै पनि व्यक्ति र संघसंस्थाले जिल्ला प्रशासन कार्यालयको समन्वयबिना राहत वितरण गर्न नपाउने व्यवस्था मिलाइएको अधिकृत कार्कीले जानकारी दिएका छन् ।