काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् । १० खेलाडीमा सीमित चेल्सीले लिभरपुलको मैदानमा बलियो खेल पस्कँदै खेलाडीको अभावमा पनि बराबरीमा रोक्न सफल रह्यो ।
एनफिल्डमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । खेलमा सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो । रिस जेम्सको एसिस्टमा काइ हाभेर्ट्जले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा साडियो मानेको गोल हुने प्रहार रोक्ने क्रममा ह्यान्डबल भएपछि रेफ्रीले रिस जेम्सलाई रातो कार्ड देखाउँदै लिभरपुललाई पेनाल्टी दिए । उक्त पेनाल्टीमा मोहमद सालाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए ।
त्यसपछि दोस्रो हाफमा १० खेलाडीमा सीमित भएपनि चेल्सीले लय गुमाएन र लिभरपुललाई थप गोल गर्न दिएन । त्यसपछि थप गोल भएनन् र खेल बराबरीमै सकियो ।
बराबरीपछि समान ३ खेलबाट समान ७ अंक भएका चेल्सी र लिभरपुल क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।