काठमाडौं, १ असार । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पहिलो जित दर्ता गरेको छ ।
शनिबार भएको खेलमा अफगानिस्तानलाई डक वर्थ लेविसका आधारमा ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले पहिलो जित निकालेको हो ।
सोफिया गार्डेन्समा वर्षाले प्रभावित गरेपछि ४८ ओभरमा झारिएको खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई जितका लागि १२६ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा अफगानिस्तानले दिएको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले २८ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।
दक्षिण अफ्रिकाका लागि क्विनटन डी ककले ६८, हासिम अमलाले अविजित ४१, एडिले लक्कीले अविजित १७ रन जोडे ।
अफगानिस्तानका गुल्बादीन नाइबले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३४ ओभर १ बलमा अलआउट हुँदै १२५ रन बनाएको थियो ।
अफगानिस्तानका लागि राशिद खानले ३५, नुर अली जाड्रानले ३२ र हजरातउल्लाह जजाईले २२ रन बनाए ।
दक्षिण अफ्रिकाका इमरान ताहिरले ४, क्रिस मोरिसले ३, एन्डिलो फहवकुवलो २ र कागिसो रबाडाले १ विकेट लिए ।
जितसँगै दक्षिण अफ्रिकाको खराब यात्रामा पूर्णबिराम लागेको छ । दक्षिण अफ्रिकाले ५ खेलबाट ३ अंक जोडेको छ । अघिल्ला ४ खेलमा दक्षिण अफ्रिकाले ३ खेलमा हार र वर्षाले खेल रद्द हुँदा १ खेलमा अंक बाडेको थियो ।
अफगानिस्तानको यो चौथो हार हो । पुछारको अफगानिस्तानले ४ खेलमा अंक जोड्न सकेको छैन ।