बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

दाङमा पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनशिप हुने

आइतबार, साउन २४ २०७८

दाङ । दाङमा पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । नेपाल मार्शल आर्टस् हाप्किडो संघ दाङको आयोजना घोराहीमा प्रतियोगिता हुन थालेको हो ।
नेपाल मार्शल आर्टस् हाप्किडो संघ दाङले आइतबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय प्रतियोगिता आगामी पुस १३ गतेदेखि १६ गतेसम्म चार दिन गर्न लागिएको जानकारी दिएको हो । कोरोनाका कारण सुस्त बनेको खेलकुद क्षेत्रलाई चलायमान बनाउँदै खेलाडीको स्तरबृद्धि र खेलक्षेको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल मार्शल आर्टस हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तिमगरले जानकारी दिएका छन् ।
उनका अनुसार प्रतियोगितामा देशका सातै प्रदेशका खेलाडीहरुको सहभागिता हुनेछ । केन्द्रीय अध्यक्ष घर्तीमगरले प्रतियोगिताले खेलाडी उत्पादनसँगै खेलकुद क्षेत्रको विकासमा मद्धत गर्ने दावी गरे
उनका अनुसार प्रतियोगितामा समेनार समेत हुने भएकाले खेलाडी, प्रशिक्षक, अतिथिलगायतका करिव सात सयको सहभागिता हुने बताए ।
अध्यक्ष घर्तिले हाप्किडो खेलको विकाससँगै प्रत्येक युवालाई सभ्य, अनुसाशीत नागरिक बनाउने उद्देश्यले संघले विद्यालय तहदेखि नै खेलाडी उत्पादनलाई प्राथमिकता दिएको बताए । साथै हाप्किडोले युवाहरुको शारीरिक बृद्दि विकास, आत्मविश्वास र आत्मरक्षाका लागि सहयोग पुर्‍याउने बताए ।


पुसमा हुने प्रतियोगितामा खेलाडीहरुले सेल्फ डिफेन्स, डेमोस्ट्रेशन, हाईफल, लङ फलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ दश तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत २०-२५, २५-३०, ३०-३५, ३५-४०, ४०-४५, ४५-५०, ५०-५५, ५५-६०, ६०-६५ र ६५-७० गरी १० तौल समूहमा प्रतिस्पर्धा हुने आयोजक नेपाल मार्शल आर्टस हाप्किडो संघ दाङका अध्यक्ष भुवन बुढामगरले बताए । उनका अनुसार प्रतियोगितामा प्रत्येक तौल समूहमा पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुलाई मेडल, प्रमाणपत्र र नगद पुस्कार प्रदान गरिनेछ । प्रतियोगितामा बिना शुल्क खेलाडीहरु सहभागिता हुन पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा ग्लोबल हाप्किडो फेडेरेशनका अध्यक्ष तथा ग्राण्ड मास्टर हि क्वान ली’ लगायतका ग्राण्ड मास्टरहरुको उपस्थीति रहने हाप्किडो संघका केन्द्रीय महासचिव सुवणर् बिसीले जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुुर्गालाल केसीले प्रतियोगिताले जिल्लाको खेलकुद क्षेत्रको विकाससँगै सञ्चार माध्यमहरुलाई समेत खेलप्रति आकर्षित गर्ने बताए । नेपाल मार्शल आर्टस हाप्किडो संघले सन् २०२२ को अगस्ट महिनामा हाप्किडो वर्ल्ड च्याम्पियनसिप 2022 काठमाडौंमा गर्न लागेको उक्त कार्यक्रममा जानकी दिइयो । उक्त च्याम्पियनसिपमा विभिन्न ५० देशकाको सहभागिता गराउने लक्ष्य राखिएको संघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार