सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

लुम्बिनी प्रदेशमा लफडा : मुख्यमन्त्री निवासमा आफुलाई वन्धक बनाइएको सांसद वलीको दाबी

साउन २७ मा विशेष अधिवेशन आह्वान

शुक्रबार, साउन २२ २०७८

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्दी (वन्धक) बनाएर जबरजस्ती एमालेमा रहेको ब्यहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको बताएकी छिन् । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले आफू माओवादी केन्द्रमै रहेको स्पष्ट पारेकी छिन् ।
आफूलाई एमालेमा सामेल हुन र मन्त्री बन्न दबाब दिँदै साउन १६, १७ र १८ गते मुख्यमन्त्री निवासबाट बाहिर निस्कन नदिइ निरन्तर दबाब दिइएको उनले बताएकी छिन् । ‘मैले इन्कारी जारी राखें, साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्नै नदिई जबरजस्ती हस्ताक्षर गराइयो,’ विज्ञप्तिमा उनले भनेकी छन्, ‘यति मात्र नभई अर्को दुई तीन वटा माइन्युट जस्ता रजिस्टरमा पनि जबरजस्ती हस्ताक्षर गराइयो ।’
त्यसपछि आफूले मुख्यमन्त्री निवासबाट उन्मुक्ति पाउने र बाहिर गएपछि सबै घटना सार्वजनिक गर्ने योजना बनाए पनि आफूलाई अझ कडाईका साथ मुख्यमन्त्री निवासमै राखिएको उनले बताइन् । २० गते बिहान आफूलाई असह्य पीडा भएको र यहाँबाट जसरी पनि निस्कनुपर्छ भनेर सोच बनाएर दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका छोपेर ट्वाइलेटको चप्पल लगाएर नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पुगेको पनि उनले बताइन् ।

साउन २७ मा विशेष अधिवेशन आह्वान

–लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गरेका छन् । साउन २७ गते १ः ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश प्रमुख शेरचनले प्रदेशसभाको बैठक आह्वान गरेको जनाएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेको गरेपछि सत्तारुढ दल एमाले आपत्ति जनाएको छ । प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेपछि बिहीबार एमाले लुम्बिनी प्रदेश संसदीय दलले गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक भूमिश्वर ढकालले आपत्ति जनाएका हुन् । उनले संविधानको धारा १६८(१) अनुसार गठन भएको एकल बहुमतको सरकारविरुद्ध दुई वर्ष नपुग्दै अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने जिकिर गर्दै अधिवेशनबारे पार्टीमा थप छलफल र परामर्श गर्दै अघि बढिने बताए ।
उनले अविश्वास प्रस्तावमाथि छलफलका लागि प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशन संविधान विपरीत भएको समेत बताए । उनले जसपाका सांसदको एउटा सत्ता विपक्षी र अर्को सत्ता पक्षमा बस्ने गरेको समेत उल्लेख गर्दै पार्टी परिस्थितिलाई गम्भीर रुपमा विश्लेषण गरेर अघि बढ्ने बताए । प्रदेशका प्रमुख शेरचनले विपक्षीको माग बमोजिम साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् । संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार