काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले गुठीयारको आन्दोलनमा भएको प्रहरी हस्तक्षेपबारे छानविन प्रक्रिया अघि बढेको जानकारी दिएका छन् । मंगलबार संसदमा जवाफ दिंदै गृहमन्त्री थापाले महानगरीय प्रहरीले छानविन प्रक्रिया अगाडि बढाइसकेको बताएका हुन् ।
उनले प्रदर्शनकारीले सडक बन्द गर्ने र प्रहरीमाथि ढुंगा तथा इट्टा प्रहार गरेपछि सामान्य बल प्रयोग गरेको जिकिर गरे । गृहमन्त्री थापाले भने, ‘केहि राज्यको तर्फबाट, केहि प्रदर्शनकारीको तर्फबाट यदि कतै कानून मिचिएको छ भने निश्चय नै कानून विपरित जाने र त्यहाँ बल प्रयोग गर्ने, अभद्र व्यवहार गर्ने कुराहरुलाई कानून बमोजिम त्यो दण्डनीय नै हुन्छ ।’
त्यस दिन भएको घटनाको विषयमा आवश्यक छानविन प्रक्रिया सरकारले सुरु गरेको थापाले जनाए । महानगरीय प्रहरीले छानविनको कामलाई अघि बढाएको थापाले बताएका छन् ।
सार्वजनिक यातायातको आगमनलाई अवरोध गर्ने र सुरक्षा निकायमाथि ढुंगा इट्टाले हानेपछि नियन्त्रण लिन सामान्य बल मात्रै प्रयोग गरेको गृहमन्त्रीको दाबी छ । उनले भने, ‘सार्वजनिक यातायातलाई आगमनलाई सुचारु गर्नको निम्ति राज्यले प्रदर्शनलाई तिरतवितर गरेको हो । यस क्रममा केहि घाईते पनि भएका छन् । केहि प्रहरी, केहि प्रदर्शनकारी पनि छन् । केहिलाई हिरासतमा लिइएको पनि त्यस दिनको सत्य हो ।’
उनले पक्राउ परेका सबैलाई बेलुका छोडिसकिइएको जानकारी दिए । गुठी विधेयकको विरोधमा भएको आन्दोलनमा उपत्यका सडक विस्तार पीडित संघर्ष समिति, सम्पदा बचाउ अभियान, नेवा संगठन र डगु होल नेवा गुठीको सहभागिता रहेको थापाको भनाई छ ।