काठमाडौ । डिफेन्डिङ च्याम्पियन ब्राजिल कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार विहान सम्पन्न क्वाटरफाइनलमा चिलीलाई हराउँदै ब्राजिल अन्तिम चारमा पुगेको हो ।
चिलीलाई १-० ले पराजित गर्न लुकास पाकेटाले गरेको एकमात्र गोल नै निर्णायक बनेको थियो । उनले खेलको ४६औं मिनेटमा गोल गरेका थिए ।
४८औं मिनेटमा गाब्रियल जेससले रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित भएको थियो । यद्यपि ब्राजिलले झिनो अग्रता जोगाइराख्न सफल रह्यो ।
आजै विहान सम्पन्न अर्को खेलमा पाराग्वेलाई टाइब्रेकरमा हराउँदै पेरुले पनि सेमिफाइनलको यात्रा तय गरेको छ । टाइब्रेकरमा पेरु ४-३ ले विजयी भएको हो ।
निर्धारित ९० मिनेटको खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पेरु बाजी मार्न सफल रह्यो ।
अब फाइनल प्रवेशका लागि ब्राजिल र पेरुबीच प्रतिस्पर्धा हुनेछ ।