काठमाडौं । स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको पहिलो क्वाटरफाइनल खेलमा स्वीजरल्यान्डलाई हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समयको ३० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । स्पेनले १० खेलाडीमा सीमित स्वीट्जरल्यान्डलाई टाइब्रेकरमा ३-१ ले हरायो ।
निर्धारित समयको खेलमा स्वीट्जरल्यान्डका जेर्डन शाकिरीले एक गोल गर्दा स्पेनले गोल उपहार पाएको थियो । दुवै हाफमा १-१ गोल सम्भव भएका थिए ।
खेलको आठौंं मिनेटमा अल्बाले डिबक्स बाहिरबाट प्रहार गरेको बल डिफेन्डर डेनिस जाकारियाको खुट्टाबाट डिफ्लेक्ट भएर गोल भएको थियो ।
दोस्रो हाफको ६८औं मिनेटमा शाकिरीले गोल गरेपछि खेल १-१ को बराबरीमा आएको थियो । ७७औं मिनेटमा रेमो फ्युलरले रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि स्वीस टोली १० खेलाडीमा सीमित भएको थियो ।
त्यसपछि निर्धारित समय र अतिरिक्त समयमा पनि थप गोल हुन नसक्दा खेल पेनाल्टीमा पुगेको हो । पेनाल्टी सुटआउटमा स्पेनले पहिलो प्रहार मिस गरेपनि त्यसपछिका चारमध्ये तीन प्रहारमा सफल भयो । स्वीट्जरल्यान्डले भने पहिलो प्रहार मात्र गोल गर्न सक्यो ।
उत्कृष्ट फर्ममा रहेको स्वीस टोली टाइब्रेकरमा स्तब्ध बन्दै बाहिरिएको छ । स्पेनले भने सेमिफाइनलमा इटालीसँगको भेट पक्का गरेको छ ।
इटालीसँग स्तब्ध हुँदै बेल्जियमको यात्रा समाप्त
उपाधि दाबेदारका रुपमा आंकलन गरिएको बेल्जियमको यात्रा १६औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमै समाप्त भएको छ । राति भएको दोस्रो क्वाटरफाइनल खेलमा अर्को दाबेदार टोली इटालीसँग २-१ ले स्तब्ध बन्दै बेल्जियम बाहिरिएको हो ।
इटालीको जीतमा निकोला बारेला र लोरेन्जो इन्साइनले एक-एक गोल गरेका थिए भने बेल्जियमका लागि रोमेलु लुकाकुले एक गोल फर्काए ।
खेलको ३१औं मिनेटमा बारेलाको गोलमार्फत इटालीले अग्रता लिएको थियो । उनले मार्को भेराट्टीको पासमा गोल गरेका थिए । ४४औं मिनेटमा बारेलाको पासमा इन्साइनले टाढाबाट प्रहार गरेको बलले जाली चुम्दा इटाली २-० ले अघि बढ्यो ।
पहिलो हाफको इन्जुरी समयमा जेरेमी डोकुमाथि डिबक्समा फल भएपछि पाएको पेनाल्टीमा लुकाकुले गोल गर्दै बेल्जियमलाई खेलमा फर्काउने प्रयास गरे ।
पुनरागमनका लागि प्रख्यात टोली बेल्जियमले यसपटक भने पुनरागमन गर्न सकेन । टोलीका कप्तान इडेन हाजार्ड चोटका कारण मैदानबाहिर रहेका थिए ।
जीतसँगै इटालीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । इटालीले फाइनल प्रवेशका लागि स्पेनको सामना गर्नेछ ।