काठमाडौं । डिफेन्डिङ च्याम्पियन पोर्चुगल १६औं संस्करणको युरोकप फुटबलबाट बाहिरिएको छ । भर्खरै सम्पन्न अन्तिम १६ को खेलमा बेल्जियमसँग पराजित हुँदै पोर्चुगलको यात्रा समाप्त भएको हो ।
सेभिलमा भएको खेलमा बेल्जियम १-० ले विजयी रह्यो । बेल्जियमलाई जिताउन पहिलो हाफमा थोर्गन हाजार्डले गरेको गोल नै निर्णायक बन्यो ।
पहिलो हाफको ४२औं मिनेटमा रोमेलु लुकाकुको पासमा हाजार्डले डिबक्स बाहिरबाट दर्शनीय गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा पोर्चुगलले केही अवसरहरु सिर्जना गरेपनि गोल फर्काउन सकेन र क्रिस्टियानो रोनाल्डोको पोर्चुगल अन्तिम १६ बाटै घर फर्किन बाध्य भयो ।
बेल्जियमले अब सेमिफाइनल प्रवेशका लागि अर्को हेभिवेट टोली इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।