काठमाडौँ । बेल्जियम युरो २०२० काे नकआउट चरण प्रवेश गरेको छ । विहीबार रातीकाे खेलमा डेनमार्कलाई २-१ ले हराउँदै बेल्जियम अन्तिम १६ मा पुगेको हो ।
१ गाेलले पछि परेको अवस्था उल्टाउँदै टिमलाई जिताउन बेल्जियमका हाजार्ड र डी ब्रुयनले गाेल गरे । कोपनहेगनमा भएको खेलको दाेस्राे मिनैटमै घरेलु टिम डेनमार्कका लागि पाउलसेनले गोल गर्दै अग्रता दिलाएका थिए । तर, दाेस्राे हाफमा मैदान प्रवेश गरेका ब्रुयन चम्किदा दोस्रो हाफमा बेल्जियम खेलमा हावी भएको थियाे ।
५५ औं मिनेटमा ब्रुयनको पासमा हाजार्डले गोल गर्दै बेल्जियमलाई १-१ गोलको बराबरीमा फर्काए । ७१ औं मिनेटमा ब्रुयनले गोल गर्दै बेल्जियमलाई २-१ को जित दिलाए ।
जितसँगै बेल्जियमको २ खेलबाट ६ अंक भएको छ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो । डेनमार्कको यो दोस्रो हार हो । डेनमार्क, पहिलो खेलमा फिनल्याण्डसँग १–० ले पराजित भएको थियो । यससँगै उसको अघिल्लाे चरण प्रवेशकाे सम्भावना कमजाेर बनेको छ ।
नेदरल्याण्ड्स अन्तिम १६ मा प्रवेश
काठमाडाैँ । नेदरल्याण्ड्स युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा अस्ट्रियालाई २-० गोलले हराउँदै नेदरल्याण्ड्स लगातार दोस्रो जितसहित नकआउट चरणमा प्रवेश गरेको हो ।
नेदरल्याण्ड्सलाई जित दिलाउन मेम्फिस डिपे र डेञ्जल डम्फ्रिइजले एक एक गोल गरे । ११ औँ मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमार्फत र डेञ्जल डम्फ्रिइजले ६७ औँ मिनेटमा गोल गरेका हुन् । नेदरल्याण्ड्स नकआउट चरणमा पुग्ने तेस्रो टिम हो ।
युक्रेनले नर्थ म्यासेडोनियालाई हरायो
युरो कप अन्तर्गत बिहीबारको खेलमा युक्रेन विजयी भएको छ । उसले रोमानियाको बुकारेस्टमा उत्तरी म्यासेडोनियमाथि २-१ को कठिन जित निकालेको हो ।
खेलको २९ औँ मिनेटमा एन्ड्री यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाए । ३४ औँ मिनेटमा रोमन यारेमचुकले टोलीको अग्रता दोब्बर बनाए । ५७ औँ मिनेटमा एजान एलिओस्कीले म्यासेडोनियाका लागि एक गोल फर्काए । उनले आफ्नो पेनाल्टी प्रहारलाई युक्रेनका गोलरक्षकले रोके पनि रिबाउन्ड बललाई पोस्टको दिशा दिएका हुन् ।
८४ औँ मिनेटमा युक्रेनका रुस्लान मालिनोभस्कीले पेनाल्टी अवसरलाई सदुपयोग गर्न सकेनन् । उनको प्रहारलाई म्यासेडोनियाका गोरक्षकले बचाउ गरे ।
जितसँगै युक्रेन २ खेलबाट ३ अंक जोड्दै समूह ‘सी’ को तेस्रो स्थानमा उक्लिएको छ । लगातार दोस्रो पराजय बेहोरेको म्यासेडोनिया समूहको अन्तिम स्थानमा छ । युक्रेन पहिलो खेलमा नेदरल्यान्डसँग ३-२ ले पराजित हँदा म्यासेडोनियाले अष्ट्रियासँगको खेल ३-१ ले गुमाएको थियो ।