काठमाडौं । युरोकप अन्तर्गत इटालीले स्वीट्जरल्याण्डमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इटालीले स्वीट्जरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
इटालीका लागि म्यानुएल लोकेटेल्लीले २६औँ र ५२औँ मिनेटमा र सिरो इम्मोबिलले ८९औँ मिनेटमा गोल गरे । समूह ए मा रहेको इटालीले अघिल्लो खेलमा पनि टर्कीलाई ३-० ले नै हराएको थियो । स्वीटजरल्याण्डले वेल्ससँग १-१ को बराबरी खेलेको थियो ।
यो जितसँगै इटाली युरो कपमा अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको छ । अब इटालीले वेल्ससँग खेल्न बाँकी छ ।
वेल्सको अघिल्लो चरण पुग्ने सम्भावना बलियो
युरो २०२० अन्तर्गत समुह ए को आफ्नो दोस्रो खेलमा वेल्सले टर्कीलाई २-० ले हराएको छ। जितसँगै वेल्सले २ खेलबाट ४ अंक बनाएको छ। अघिल्लो खेलमा वेल्सले स्विटजरल्यान्डसँग १-१ गोलको बराबरी खेलेको थियो।
अजरबैजानको बाकुमा करिब ३० हजार दर्शकमाझ भएको खेलको पहिलो हाफको ४२ औ मिनेटमा बेलको उत्कृष्ट लङ पासलाई आरोन राम्सीले आकर्षक रुपमा गोल गर्दा पहिलो हाफमा वेल्सले अग्रता लिएको थियो ।
दोस्रो हाफमा पनि पुन: बेलकै उत्कृष्ट पासमा रोबर्टसले गोल गरे । कप्तान ग्यारेथ बेलले पेनाल्टिमा गोल गर्न नसकेपनि दुबै गोलमा पास भने उनैले मिलाएका थिए । उनी प्लेयर अफ द म्याच बने ।
६१ औँ मिनेटमा पाएको पेनल्टीमा बेल गोल गर्न चुकेका थिए। टर्कीले पनि गोलका केही राम्रा मौका चुकाएको थियो। पराजयसँगै टर्कीको अघिल्लो चरणको सम्भावना भने कमजोर बनेको छ ।
अब अन्तिम खेलमा वेल्सले इटालीको सामना गर्नेछ भने टर्कीले स्विटजरल्यान्डसँग खेल्ने छ।
आजै १२:४५ मा हुने खेलमा इटालि र स्विटजरल्यान्ड खेल्दैछन् । आजको खेल जिते इटाली जारी प्रतियोगितामा नकआउट चरण पुग्ने पहिलो टीम बन्ने छ ।
रसियाको संघर्षपुर्ण जित
युरो २०२० मा रसियाले पहिलो जित आत्मसाथ गरेको छ। बुधबार भएको आफ्नो दोस्रो खेलमा फिनल्यान्डलाई १-० ले पराजित गर्दै रसियाले प्रतियोगितामा पहिलो जित निकाल्यो। पहिलो खेलमा रसिया बेल्जियमसँग ३-० ले पराजित भएको थियो।
पहिलो हाफको अतिरिक्त समयमा एलेसक्सी मिरानचुकले गरेको एकमात्र गोल नै खेलको निर्णायक भयो । रसियाले २०१२ पछि युरोपियन च्याम्पियनसिपमा पहिलो पटक जित हात पारेको हो ।
फिनल्यान्डले कडा चुनौती दिएको खेलमा सुरूवाती गोल गरेपनि भिएआरले अफसाइडका कारण अमान्य घोषणा गरिदिएको थियो ।
फिनल्यान्डले मुख्य प्रतियोगितामा पहिलो पटक डेनमार्कलाई शनिबार १-० ले पराजित गरेको थियो । त्यसअघिनै मैदानमा ढलेका डेनिस खेलाडी एरिक्सनको अवस्थाले उसको जित छाँयामा परेको थियो।
समुह बि मा रसियाको जितसँगै बेल्जियम, रसिया र फिनल्यान्डको समान ३ अंक भएको छ। डेनमार्क अंक बिहिन छ।