काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अन्तरर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विशेष समारोहमा सहभागी हुन आजसाँझ त्यसतर्फ प्रस्थान गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङ्लगायतले बिदाइ गरेका थिए । सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो ।
भ्रमण दलमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रतिनिधिसभाको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद बिन्दा पाण्डेलगायत रहेका छन् ।
प्रधानमन्त्री ओली यही २७ गते आइएलओको शतवार्षिकीका अवसरमा जेनेभामा आयोजना हुने विशेष समारोहमा सहभागी हुने सिलसिलामा दुई दिन जेनेभामा रहने छन् । भ्रमणकै क्रममा प्रधानमन्त्रीले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
जेनेभा बैठकमा विश्वका करीब ४५ देशका सरकार तथा राष्ट्रप्रमुखको सहभागिता रहने बताइएको छ । त्यहाँ रहँदा प्रधानमन्त्री ओलीले टर्कीका उपराष्ट्रपति फुट ओक्टे, नर्वेका प्रधानमन्त्री इर्ना सोल्बेर्गलगायत विभिन्न देशका उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम छ ।
सो क्रममा प्रधानमन्त्री ओलीले युरोपेली देशका अन्य दुई मुलुकको पनि औपचारिक भ्रमण गर्ने छन् । उनले जेठ ३२ गतेसम्म स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओली आगामी असार १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।