रुपन्देही(जस)–वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्मकुमार भुषालले वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रणका लागि विभाग सक्रिय बनेको बताएका छन् । उनले पछिल्लो समयमा संस्थागत ठगी धेरै भएकाले विभागले त्यसको नियन्त्रणका लागि काम गरिरहेको बताए । बुटवलमा आइतबार आयोजना गरिएको साक्षात्कारमा उनले वैदेशिक रोजगारीमा जाने नपालीमाथि संस्थागत ठगी बढेको पाइएको जानकारी गराए । उनले त्यस्ता ठगी नियन्त्रणका लागि विशेष रणनीतिका साथ काम गरिरहेको बताए ।
महानिर्देशक डा भुषालले ३९ प्रतिशतले वैदेशिक रोजगारमा जानेको सङ्ख्या घटेको तर विप्रेषणमा भने वृद्धि भएको जानकारी दिए । मलेसिया, कतार जस्ता देशमा देखापरेको पछिल्लो परिस्थिति र नेपालको आन्तरिक अवस्था सुधारका कारणले पनि वैदेशिक रोजगारी जानेको सङ्ख्या घटेको उनको तर्क छ । उनले विभागको प्रशासनिक क्षेत्रमा देखापर्ने अनुसाशनहीनतालाई अन्त्य गर्ने विभागको योजना रहेको बताए । श्रम तथा रोजगार कार्यालयका निमित्त प्रमुख बालकृष्ण थापाले बुटवल कार्यालयलाई थप व्यवस्थित गर्ने गरी काम भइरहेको जानकारी दिए । उनले कार्यालयबाट दिने सेवा छिटोछरितो बनाउन प्रयत्न भइरहेको बताए ।