बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

नेपाललाई त्रिदेशीय कप फुटबलको उपाधि, पूर्वकप्तान विराज महर्जनको बिदाई

मंगलबार, चैत्र १७ २०७७

काठमाडौँ(जस)–त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जितेको छ । फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको हो । नेपालले दुवै गोल पहिलो हाफमा गरेको हो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका हुन् । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त ग¥यो भने उपविजेता बङ्गलादेशले तीन हजार डलर प्राप्त ग¥यो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपाली टोलीले शुरुआतदेखि नै बङ्गलादेश विरुद्ध आक्रामक खेलेको थियो । खेलको १८औँ मिनेटमा सन्जोग राईले नेपालका लागि पहिलो गोल गरेका हुन् । उनी आफ्नो दोस्रो अन्तर्राष्ट्रिय खेलमा नै गोल गर्न सफल भएका हुन् । यस्तै खेलको ४२औँ मिनेटमा विशाल राईले नेपालका लागि दोस्रो गोल गरेका हुन् ।
पहिलो हाफमा नेपाली खेलाडीहरुले गोल गर्ने उत्कृष्ट प्रयास गरेका थिए । खेलको १३औँ मिनेटमा नेपाल गोल गर्नबाट चुक्यो । खेलको १६औँ मिनेटमा बङ्गलादेशी खेलाडीले रोहित चन्दलाई मैदानमा लडाएपछि नेपालले फ्रि किकको मौका पाएको थियो । अनन्त तामाङले हानेको बल गोलपोष्ट बाहिर पुग्यो ।
यस्तै खेलको २५औँ मिनेटमा नेपालले फ्रि किकको अवसर पाएको थियो । खेलको २८औँ मिनेटमा बङ्गलादेशले गोल गर्ने मौका पाएको थियो । उक्त प्रयास नेपाली टोलीका गोलकिपर किरणकुमार लिम्बुले विफल पारे । खेलको ३०औँ मिनेटमा अन्जन विष्टले गोल गर्ने उत्कृष्ट मौका गुमाए । यस्तै ३१औँ मिनेटमा विशाल राई गोल गर्नबाट चुके ।
नेपालले मध्यान्तरअघिको खेलजस्तो आक्रामक खेल मध्यान्तरपछि खेल्न सकेन । फलस्वरुप बङ्गलादेशले खेलको ८३औँ मिनेटमा एक गोल गर्न सफल भयो । बङ्गलादेशका लागि रहमानले हेडमार्फत सान्त्वना गोल गरेका थिए । नेपालले खेलको अन्तिमतिर गोल गर्ने प्रयास गरेको थियो । तर, तेस्रो गोल गर्न भने नेपाल असफल रह्यो । अन्ततः नेपाल बङ्गलादेशविरुद्धको खेलमा २–१ गेलअन्तरले विजयी भयो ।
पूर्वकप्तान विराज महर्जनको बिदाइ
नेपाली फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले बङ्गलादेश विरुद्धको अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिनुभएको छ । उनले सोमबारको खेलबाट सन्यास लिने यसअघि नै घोषणा गरेका थिए । पूर्वकप्तान महर्जनको दशरथ रङ्गशालामा सोमबार भव्य रुपमा बिदाइ गरिएको छ । बङ्गलादेश विरुद्धको खेलमा उनी खेलको ८९औँ मिनेटमा मैदानमा प्रवेश गरेका थिए । उनी नेपालका तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने फुटबल खेलाडी छन् । महर्जनले ७३ खेल खेले ।
खेलको अवलोकन गर्न प्रधानमन्त्री ओली रङ्गशालामा
नेपाल र बङ्गलादेश बीचको फाइनल खेल अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रङ्गशाला गएका थिए । उनी खेल शुरु हुनु अगावै रङ्गशाला प्रवेश गरेका थिए । उनका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाललगायत रङ्गशाला पुगेका थिए ।
नेपालको तर्फबाट दुवै गोल हुँदा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गरेका थिए । उनले खेल अवधिभर रङ्गशालमा रहेर खेलाडीको हौसला बढाउनुका साथै विजेता तथा उपविजेता खेलाडी, प्रशिक्षक, रेफ्री, खेल पदाधिकारीलगायतलाई ट्रफी प्रदान गर्दै सम्मान गरेका थिए । प्रतियोगितामा नेपाल र बङ्गलादेशले आफ्नो सिनियर राष्ट्रिय टोलीलाई मैदानमा उतारे पनि किर्गिस्तानले भने युथ २३ टोलीलाई प्रतियोगितामा समावेश गराएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार