काठमाडौँ । म्यान्मारको सेनाले सैनिक कू को विरोध गर्नेलाई २० बर्षसम्मको सजाय हुने चेतावनी दिएको छ । सैनिक कू को विरोधमा सडकमा प्रदर्शन बढ्न थालेपछि सेनाले लामो सजाय र ठुलो जरीवाना हुने चेतावनी दिएको हो ।
सेनाले ड्युटीमा रहेका सुरक्षा बलका सदस्यलाई कुनै बाधा पुर्याएमा ७ बर्षसम्मको सजाय हुने सेनाले जानकारी दिएको छ । साथै सार्बजनिक रुपमा डर या अशान्ति फैलाएको पाइएमा तीन बर्षको सजाय हुने सेनाले जनाएको छ ।
सडमा सेनाको कू को विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले लोकतन्त्रको बहाली र हिरासतमा रहेका नेताहरुको रिहाइको माग गरिरहेका छन् । प्रदर्शन बढ्दै गएपछि सेनाले सडकमा बख्तरबन्द गाडीहरु निकालेको छ भने प्रदर्शनकारीहरुलाई कारवाही गर्न कैयौं कानुन समेत परिवर्तन गरेको बताइएको छ ।
यसैबीच आङ साङ सुकीको हिरासतको अवधि बुधबारसम्मका लागि बढाएको उनको वकिलले जानकारी दिएका छन् ।
म्यान्मारमा नागरिकहरू रात्रि गस्तीमा
म्यान्मारमा सैनिक शासनका कारण तनाव बढ्दै गएपछि सेना, प्रहरी र उनीहरूले खटाएका व्यक्तिहरूबाट निर्दोष जनतालाई पीडित हुन नदिन नागरिकहरूले रातभर गस्ती गर्न थालेका छन् ।
स्थानीयहरूलाई सैनिक सरकारले जेलबाट रिहा गरेका व्यक्तिमार्फत् सुराकी गर्ने र तनाव दिन थालेपछि यो रणनीति लिइएको नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) समर्थक नेता तथा कार्यकर्ता हरूले बताएका छन् ।
सेनाले नागरिक नेता आङ सान सुकीलाई फेब्रुअरी १ मा हिरासतमा लिएर उहाँको सरकारलाई हटाएपछि बनेको सेनाको निकट मानिने सैनिक जुन्ता समूहको सरकारले सयौं मानिसहरूलाई बन्दी बनाएको छ । सरकारको कदमविरूद्ध सडकमा नागरिक अवज्ञा अभियानलाई रोक्न सेनाले सहर तथा गाउमा पसी प्रभावशाली व्यक्तिलाई पक्राउ गर्न थालेको र यसलाई असफल बनाउन एनएलडीले आफ्ना नेता, शुभचिन्तक तथा मतदातालाई निर्देशन गरेको छ ।
प्रतिक्रियावरूप म्यानमारका समुदायहरूबाट रातको समयमा नेता तथा कार्यकर्ताको गिरफ्तार हुन नदिनको लागि विभिन्न समूहहरू बनाएर गस्ती बढाएका छन् ।
“हामी अवश्य पनि डराएका छौं किनकि उनीहरू सशस्त्र छन् तर हामी हरेक रात आफ्नो निगरानी जारी राख्नेछौं,” याङ्गोनका सडकमा गस्तीमा खटिएका एक यूवा म्यो को कोले एएफपीलाई बताए । “हामी कसैलाई पनि विनाकारण पक्राऊ गर्न दिनेछैनौ ।”
जुन्ता समूहले जेलमा रहेका कैदीहरूलाई रिहा गरी समुदायमा सैनिक सरकारको पक्षमा अभिमत सिर्जना गर्न पठाइएको सामाजिक सञ्जालहरूमा फैलिएको हल्लापछि प्रजातन्त्र पक्षधर अभियन्ताहरू गस्तीमा निस्केका एनएलडीले बताएको छ ।