काठमाडौं(जस)–दुर्र्गामाया गुरुङको जीवनमा सबैभन्दा महत्व गीत–संगीतकै छ । किनकी उनले आफ्नो जीवननै यसैमा समर्पित गरेकी छन् । स्याङ्जा जिल्ला माझकोट–५, रानीस्वारा (हाल वालिङ नगरपालिका–३) मा जन्मिएकी दुर्गामाया संगीत क्षेत्रको प्रसिद्ध नाम हो । बालापनदेखि नै गीत–संगीतमा अब्बल गुरुङ विधालय पढ्दा–पढ्दै यो क्षेत्रमा प्रवेश गरिसकेकी थिइन । विद्यालयमा आफ्नो कर्णप्रिय आवाजले सबैको मन जितेकी दुर्गाले विधार्थी जीवनमै गीत गाएरै धेरै पुरस्कार र सबैको माया पाइन । यसरी नै उनको सांगीतिक यात्राको बाटो कोरियो ।
स्याङ्जा जिल्लालाई कलाकारको खानीको जिल्लाका रूपमा चिनिन्छ । हुन पनि उनलाई पनि स्थानीय माहौलले नै संगति क्षेत्रमा लाग्न उत्प्रेरित बनायो । गाउँमै रहँदादेखि नै सांस्कृतिक कार्यक्रममा भाग लिने नाच्ने, गाउने गर्ने गरेको दुर्गाले गाउँघर वा स्कुलमा नाचेर वा गाएरै सबै मानिसलाई कायल बनाउँथिन । गीत गाउन अत्यन्तै मन पराउने दुर्गाले लोकगीत अत्यन्तै राम्रो गाउँथिन । विस २०५१ सालमा बुटवल नगरपालिकाले आयोजना गरेको लोकदोहोरी प्रतियोगितामा भाग लिएर प्रथम भएकी थिइन दुर्गा । सो विजयसँगै दुर्गाको गायन क्षेत्रमा व्यावसायिक रूपमा प्रवेश भयो ।
विस २०५१ सालमा बुटवलमा प्रथम भएपछि दुर्गा साङ्गीतिक क्षेत्रमा थप सक्रिय रुपमा अगाडि बढ्ने अभिलाषा बोकेर काठमाडौँ प्रवेश गरिन । काठमाडौँ आउनासाथ त्यही साल काठमाडौँमा आयोजना भएको भव्य दोहोरी गीत प्रतियोगितामा दोस्रो भएपछि दुर्गामा हौसला बढ्यो जसले उनले आफ्नै एल्बम निकाल्ने तयारी गर्न थालिन । अर्कोतर्फ दुर्गाले देशैभरि आयोजना हुने दोहोरी प्रतियोगितामा विजय हासिल गर्न थालेपछि उनको माग जताततै बजारमा बढ्न थाल्यो । बजारको मागलाई सम्बोधन गर्दै दुर्गाले २०५१ साल मै कृष्ण गुरुङ को ‘रामराहानी ङोल्स्यो’ गुरुङ गीतको एल्बम र बलराम पुनको ‘पर्ख सँगै जाँउ’ दोहोरी एल्बममा व्यावसायिक रुपमा गीत गाइन । उनका यी एल्बमहरुले त्यति बेला राम्रो बजार लिन सफल भए। उनलाई झन् थप हौसला मिल्यो । जसले गर्दा उनको एल्बमहरुमा गीत गाउने क्रम झन् बढ्दै गयो । उनले नेपालकै पहिलो गुरुङ फिल्म ‘पाते’ मासमेत गीत गाइन । लोकसंगीतलाई समय दिँदै दुर्गा बिस्तारै लोकदोहोरीमा रुपमा जम्दै पनि गईन र सफलताको सिँढी पनि चढैं गइन ।
यसैक्रममा उनले विस २०५३ मा रेडियो नेपालमा भाषा परीक्षा पास गरिन । बजारमा उनको माग पनि बढेर गयो । दुर्गाले नेपालको पहिलो दोहोरी पुकार दोहोरी साझँमा उद्घाटनकै दिनमा गीत गाउने अवसर पाइन । जसले गर्दा दोहोरी साँझहरूमा समेत उनको माग बढ्न थाल्यो । उनको देशैभरिका लोकदोहोरी प्रतिस्प्रर्धामा भाग लिँदै पुरस्कार जित्ने क्रम झन् बढेर गयो । उनी दोहोरी क्षेत्रको सर्वप्रिय आइडल नै भइसकेकी थिइन त्यति बेला । दुर्गाले २०५६ मा आफ्नै तीजको गीतको एल्वम ‘श्रीफुल’ बजारमा ल्याइन । त्यसले पनि राम्रो बजार पायो । साङ्गीतिक क्षेत्रमा राम्रो सफलता मात्र हैन उनले यही क्षेत्रबाट नाम र दाम समेत मनग्य कमाइरहिन । दुर्गाले देशका विभिन्न क्षेत्रमा हुने महोत्सवहरूमा पनि आफ्नो प्रस्तुति राख्थिन ।
त्यसपछि स्वदेशमा मात्रै हैन विदेशमा पनि उनको माग बढ्न थाल्यो । दुर्गा विस २०५६ मा कतारमा भएको सांस्कृतिक कार्यक्रममा भाग लिन कतार पुगिन । उनको स्वदेश सँगै विदेशको यात्रा पनि बढ्न थाल्यो । नेपालका प्राय सबै जिल्लाका महोत्सवहरूमा आफ्नो प्रस्तुति दिई सकेकी दुर्गाले नेपाल बाहिर कतार ३ पटक, दुबई ३ पटक, हङकङ ३ पटक, युके २ पटक, जापान, कोरिया, जर्मन, बेल्जियम, होल्यान्ड, पोर्चुगल, इटाली लगायत देशहरूमा समेत पुगेर आफ्नो साङ्गीतिक प्रस्तुति दिई सकेकी छन् । उनलाई अहिलेसम्म पनि स्वदेश तथा विदेशका कार्यक्रम भ्याईनभ्याई नै छ ।
दोहोरी क्षेत्रमा लागेर नाम, दाम र प्रतिष्ठान कमाउन सफल दुर्गा गुरुङ यो क्षेत्रलाई आफूले कसैगरी छाड्न नसक्ने बताउँछिन । बरु जिवनोपरन्त यही क्षेत्रमा सक्रियरुमा लागिनै रहने बताउछिन । दोहोरी क्षेत्र र लोकसंगितको क्षेत्रमा आफ्नो नाम लेखाउन सफल दुर्गाले २५०० भन्दा बढी एल्बमहरुमा स्वर भरिसकेकी छन् । लोकदोहोरी, सालैजो, कौडा, देउडा, तामाङ सेलो, काठे, घाटु, झोरा, विभिन्न भाषाभाषीका गीत, कृष्ण चरित्र, सोरठी लगायतका गीतहरू गाइसकेकी दुर्गाले यो बिचमा आफैले पनि १८ वटा एल्बम निकालिसकेकी छन् । उनको एल्वमहरु मध्ये– स्याङ्जा डाँडा वन, स्याङ्जा डाँडा घुम्तीमा पहिरो छ, डम्फु मादल, देउराली भञ्ज्यांग सालैजो, घुम्छ फुलमा पापी भमरा, स्याउली पलाईछ, घरी कहाँ हो मायालु, भयो भेट कोहलपुरैमा लगायत एल्वमहरुले एकदम राम्रो बजार लिएको थियो । हजारौँ गीत गाएर वा एल्वम निकालेर लोकसंगित क्षेत्रको विशेष आइडल बन्न सफल दुर्गा यो क्षेत्रमा नाम, दाम, इज्जत, प्रतिष्ठा, सम्मान, खुसी र सन्तुष्टि सबै रहेको बताउँछिन ।
अहिले पनि लोकसंगीतकै दुनियाँमा रमाई रहेकी दुर्गा लोकसंगित क्षेत्रबाटै समृद्ध हुने कलाकारहरूमा पर्छिन । उनी यही क्षेत्रबाट आफ्नो उदय भएकाले यो गीतसङ्गीतको क्षेत्रलाई नै सधैँ पूजा गर्ने वा यही साङ्गीतिक साधनामा नै आफ्नो सारा जीवन व्यतित गर्ने बताउँछिन । उनी भन्छिन– ‘मेरो आफ्नो अनन्त मेहनत र परिश्रमले नै यी सफलता हासिल गर्न सफल भएकोले आउने पुस्ताले पनि मेहनत गरेर मनैदेखि यो क्षेत्रमा लाग्दा सफलता प्राप्त हुने कुरामा कुनै सन्देह नरहेको बताउँछिन ।’ प्रस्तुति–भीमप्रसाद न्यौपाने














