शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

हिंसाकाबीच अमेरिकी संसदद्वारा बाइडेनको जित प्रमाणित

शुक्रबार, पुष २४ २०७७

वासिङ्टन डिसी(एजेन्सी)–डोनाल्ड ट्रम्पका समर्थकले मच्चाएको हिंसात्मक गतिविधिका बिच अमेरिकाको दुवै सदनको संयुक्त बैठकले राष्ट्रपतिमा जो बाइडेन विजयी भएको प्रमाणित गरेको छ । स्थानीय समय अनुसार बुधबार अबेर राति सकिएको हाउस अफ रिप्रिजेन्टेटिभ र सिनेटको संयुक्त बैठकले नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार बाइडेन ३०६ इलेक्टोरल कलेज मतसहित राष्ट्रपतिमा विजयी भएको प्रमाणीकरण गरेको हो ।
अर्का प्रतिस्पर्धी रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले २३२ इलेक्टोरल मत प्राप्त गरे । स्थिति नियन्त्रणमा आइसकेपछि बसेको बैठकले बाइडेनको जित प्रमाणित गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । बैठकपछि उपराष्ट्रपति माइक पेन्सले संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडेन हुने घोषणा गरे । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बाइडेनले जनवरी २० मा राष्ट्रपतिको सपथ लिनेछन् ।
शुरुवातदेखि नै गणनामा धाँधली भएको बताउँदै आएका ट्रम्पका समर्थकले बैठक चलिरहेको बेला संसद भवनमा हिंसा मच्चाएका थिए । हिंसामा परी एक महिलासहित चार जनाको मृत्यु भएको छ । हिंसाका कारण त्यहाँ कर्फ्यु लगाइएको छ । आगामी १५ दिनसम्म सार्वजनिक आपतकाल घोषणा गरिएको छ । अमेरिकी राष्ट्रपतीय निर्वाचन गत नोभेम्बर ३ मा भएको थियो । निर्वाचनमा रिपब्लिकन पार्टीबाट बहालवाला राष्ट्रपति ट्रम्प र डेमोक्र्याटिक पार्टीबाट पूर्व उपराष्ट्रपति जो बाइडेन उम्मेदवार बनेका थिए ।
ट्रम्पले आफ्नो हार निश्चित भएपछि पेन्सलभानिया जिल्ला अदालतमा बाइडेनविरूद्ध रिट समेत दायर गरेका थिए । यद्यपी अदालतले कुनै धाँधली नभएको भन्दै उनको निवेदन खारेज गरिदियो । ट्रम्प पक्षले बाइडेन पक्षमाथि कपोलकल्पित आरोप लगाएको अदालतको ठहर थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार