काठमाडौं, १२ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको साताव्यापी भ्रमणका लागि आइतबार बिहान त्यसतर्फ प्रस्थान गर्दै छन्। उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा मंगलबार आयोजना हुने जलवायु सम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन त्यता जान लागेका हुन्।
उनी आइतबार विहान ९ः२० बजे दोहा हुँदै अष्ट्रिया प्रस्थान गर्ने उपराष्ट्रपति कार्यालयको कार्यालयले जनाएको छ। भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलगायत सहभागी हुने जनाइएको छ।
अष्ट्रियामा उपराष्ट्रपति पुनले मंगलबार आर–२० विश्व शिखर सम्मेलनमा सहभागी भएर धारणा राख्नेछन्। । आर–२० युरोपका शक्तिशाली २० मुलुकहरुको समूह हो।
संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्य र पेरिस संझौताका जनादेशहरु हासिल गर्न सहयोग हुने गरी अष्ट्रियामा हरेक वर्ष यो सम्मेलन हुँदै आएको छ।
सम्मेलनमा विभिन्न मुलकका राष्ट्रपति, उपप्रमुख तथा प्रधानमन्त्रीहरु सहभागी हुनेछन्। भ्रमणको क्रममा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
उपराष्ट्रपति पुन भियना अन्तराष्ट्रिय केन्द्रको ४० औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजना हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम समेत रहेको छ।
अष्ट्रियामा रहँदा उपराष्ट्रपतिले अष्ट्रियास्थित नेपाली राजदूतावासले अन्र्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागीता हुनेछन्। भ्रमण सकेर उपराष्ट्रपति पुन आउँदो शनिवार स्वदेश फर्कने तय भएको छ।