मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

मधेशभूमि जनकपुरको ‘बेला’को नाममा अन्तर्राष्ट्रिय ब्रान्ड बनाउने नेपाली दाजुभाईले युकेमा ब्रान्ड प्रदर्शनी गर्दै

सेप्टेम्बर १ देखि सेप्टेम्बर ४ सम्म युकेमा विशेष ‘अन्तराष्ट्रिय अटुमन फेयर–२०१९’मा सहभागी हुँदै

बिहिबार, जेष्ठ ९ २०७६

काठमाडौं(जस)–नेपाली मधेशी मुलका पौरखी तीन दाजुभाईहरु अब्दुल वासिद, अब्दुल हाफिज र अब्दुल कादिर त्यस्ता ब्यक्तिहरु हुन जसले आफ्नो गाँउ जनपुरको “बेला” को नाममा अन्तराष्ट्रिय ब्राण्ड “बेलाको ब्राण्ड” स्थापना गरेर प्रसिद्धि कमाएका छन् । यी दाजुभाईले आफ्नो गाउँको नामको उक्त ब्राण्डका विभिन्न उत्पादनहरुलाई विश्वव्यापीरुपमा व्यापार गर्दै समग्र नेपालको नामलाई विश्व बजारमा गौरवपूर्ण बनाएका छन् । व्यावसायमा अलावा विभिन्न सामाजिक कार्यमा पनि सक्रिय कतारमा बस्दै आएका वासिद कतार प्रवेशको प्रारम्भमा भोगेका दुःख, कष्ट, हन्डर, ठक्कर र उनले गरेका निरन्तर धैर्यशील संघर्षबाट नै आफु सफल भएको बताउँछन । उनी भन्छन–‘दुःखमा कहिल्यै आत्तिइन र सुखमा कहिल्यै मात्तिइन, यहि नै सफल जीवनकोलागि पालना गर्नुपर्ने नियम रहेछ ।’
बेलाको ब्राण्डका सामाग्री कतारमा ‘अब्दुल हाफिज ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनी’ मार्फत उत्पादन तथा वितरण हुँदै आएको छ भने युकेबाट ‘बेलाको युके लिमिटेड’ मार्फत उत्पादन तथा वितरण हुदै आईरहेको छ । अर्थात, अहिले जनकपुरको गाउँको नामको ब्रान्ड कतार र बेलायत जस्ता देशमा पाइन्छ र अब भविष्यमा अन्य देशहरु र स्वदेश नेपालमासमेत पाइने वासिद बताउँछन् ।
उनीहरुको सफल इलमबारे संचारमाध्यमहरुमा चर्चा परिचर्चा भई नै रहन्छ । किनभने, आफ्नै ब्रान्ड बनाएर विदेशको भूमिमा व्यवसाय गर्ने उनीहरु पहिलो मधेशी नेपाली हुन् । विश्वका अन्य सफल कम्पनीका मालिकहरु समान हैसियत बनाउन सफल भईसकेका वासिद दाजुभाई व्यवसायसागै सामाजिक संघसंस्थाहरुमा पनि सक्रिय छन । वासिद हाल एनआरएन आइसीसीको सामाजिक उद्यमशीलता विकास समितिको मध्यपूर्व संयोजक समेत हुन् । वासिदले विभिन्न सामाजिक कामहरुमा मन खोलेर योगदान गर्दै आएका छन् । वासिदले सात लाख बराबरको एयर कन्डिसनर(एसी) नेपाली राजदूताबासलाई सहयोग गरेका छन् भने नेपालका बाढीपीडित र भूकम्पपीडितहरुलाई सहयोग तथा कतारमा अलपत्र परेको धेरै नेपाली को उद्धारमासमेत सहयोग गरेका छन् ।
अघिल्लो वर्ष बेलायतमा भएको प्रदर्शनीमा बेलाको ब्राण्डको अवलोकन गर्दै बेलायती मेयर साजिद खानले बेलायतमा नेपाली व्यावसायीले लगानी गरी गुणस्तरीय बस्तुहरुको उत्पादन गरेकोमा आफू अत्यन्तै खुशी भएको समेत बताएका थिए । साथै, बेलायती मेयरले नेपाली व्यावसायीलाई शुभकामना दिँदै आवश्यक सहयोग गर्ने वचनसमेत दिएका थिए । युकेमा ब्यापक फैलिदै गरेको “बेलाको ब्राण्ड” का बारेमा मेयर खानले विशेष चासो देखाएका थिए ।
यसैबीच बेलायतमा आयोजना हुन लागेको “अन्तर्राष्ट्रिय अटुमन फेयर–२०१९” मा बेलाको ब्राण्डलेसमेत विशेष सहभागिता जनाउने भएको छ । सेप्टेम्बर १ देखि सेप्टेम्बर ४ सम्म हुने यो फेयरलाई निकै महत्वका साथ हेरिन्छ । उक्त फेयरमा बेलाको ब्राण्डसहित धेरै मल्टीनेशनल ब्राण्डहरुले आफ्ना विभिन्न उत्पादनहरु प्रदर्शन गर्नेछन् । उक्त प्रदर्शनीमा बेलाको ब्राण्डले सोफा, विद्युतीय लाइट, ल्याम्प, एसी, कुलर फ्यान, हिटर, मिक्स्चरलगायत आफ्ना उत्पादनहरु प्रदर्शन गर्नेछ । “युकेमा बस्नुहुने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई हाम्रो एक्जिविसनमा पाल्नुहुन हार्दिक अनुरोध गर्दछु”, हाफिजले बताए । सो प्रदर्शनीमा होलसेलमा समान बुक गर्दा खुद्रा भन्दा २० देखि ३० प्रतिशतसम्म छुट सेवा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । बेलाको ब्राण्डले विभिन्न घरायसी सामग्रीहरु, विद्युतीय सामग्रीहरु, सोफाहरुलगायत अन्य विभिन्न बस्तुहरुको उत्पादन र विक्रि वितरण गर्दै आएको छ । केही समयअघि कतारमा भएको प्रोजेक्ट कतार एक्जिविसनमा पनि बेलाको ब्रान्डका उत्पादनहरु हजारांै अन्तर्राष्ट्रिय अवलोकनकर्ताको रोजाइमा परेको थियो ।


प्रतिक्रिया
सम्बन्धित समाचार