काठमाडौं(जस)–नेकपा संसदीय दलको बहुमत सदस्यले दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको विवाद चुलिएको छ । विवाद समाधानका लागि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटिरहेका बेला कर्णाली प्रदेशका नेकपाका संसदीय दलका सदस्य थप विभाजित भएका छन् । प्रमुख सचेतक गुलाबजङ्ग शाहले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न मंगलबार अपराह्न बैठक बोलाएपछि दलका नेता मुख्यमन्त्री शाहीले उनलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्री शाहीले प्रमुख सचेतकको जिम्मेवारी सचेतक सीता नेपालीलाई दिनुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ । मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव र प्रमुख सचेतकमाथिको कारवाहीले नेकपामा झन् सङ्कट निम्त्याएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद भीम रावलले कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध पार्टीकै सांसदहरूले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुनसक्ने बताएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध नेकपाकै १८ प्रदेश सांसदहरुले आइतबार अविश्वास प्रस्ताव दर्ता गरेपछि नेकपा भित्रको विवादले नयाँ रुप लिने संकेत देखिएको बेला नेता रावलको यस्तो भनाई बाहिर आएको हो । नेता रावलले सामाजिक संजालमा टिप्पणी गर्दै स्थायी समितिले विधि र पद्धतिमा जोड दिदै संघीय र प्रदेश सरकारमा हेरफेर गर्ने निर्णय गरेको भएपनि निर्णय कार्यान्वयन नहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध पार्टीकै सांसदहरूले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुन सक्ने बताएका छन् । उनले समयमै नेतृत्वको गम्भीर ध्यान दिन आग्रह समेत गरेका छन् । उनले भनेका छन्–‘’नेकपा, स्थायी समितिले विधि र पद्धतिमा जोड दिदै संघीय र प्रदेश सरकारमा हेरफेर गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन नहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध पार्टीकै सांसदहरूले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुनसक्छ । समयमै नेतृत्वको गम्भीर ध्यान जाओस् । देशहित ठूलो हो ।’
असन्तुष्ट १८ प्रदेशसभा सदस्यले आइतबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दलको कार्यालयमा पेश गरिएको सार्वजनिक गरेका थिए । पार्टीका शीर्ष नेतामा नेकपा कर्णाली प्रदेशको विवाद समाधानको प्रयास भइरहेका बेला यहाँको गहिरिँदो सङ्कटले प्रदेश सरकार तथा पार्टीका कामकारवाही प्रभावित भएका छन् ।
कर्णाली प्रदेश राजधानीमा दुई पक्षका नेताहरु आपसी परामर्शमा व्यस्त छन् । मुख्यमन्त्री शाहीले पदमुक्त गरे पनि प्रमुख सचेतक शाहले मंगलबार निर्धारित समयमै आफ्नो अध्यक्षतामा दलको बैठक बस्ने बताए । मुख्यमन्त्रीले गरेको कारवाही दलको विधान विपरीत भएको उनको भनाइ छ । ‘विधानमा दलको नेताको विरुद्धमा अविश्वासको प्रस्ताव आइसकेपछि प्रमुख सचेतकले बैठकको अध्यक्षता गर्ने व्यवस्था छ’, उनले भने, ‘मंगलबार) बैठक बस्छ, प्रस्तावउपर निर्णय हुन्छ ।’ उता मुख्यमन्त्री शाही निकट प्रदेशसभा सदस्य गोपाल शर्माले पार्टी एकताको भावनालाई ख्याल गरेर अघि बढ्नुपर्ने बताए । ‘अब नेकपा संसदीय दलको बैठक कात्तिक ७ गते हुन्छ र छलफल सकारात्मक दिशातर्फ जान्छ’, उनले भने, ‘अल्पमत÷बहुमतले पार्टी विभाजनतर्फ जाने र यसको नकारात्मक सन्देश प्रवाह हुने हुँदा यसमा सबैले सचेत हुन जरुरी छ ।’ चालीस सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका सभामुखबाहेक ३३ सभासद् छन् ।