मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

ग्रिनसिटी अस्पतालको बच्चा जन्माईदिने बहानामा अबैध असुली

सोमबार, जेष्ठ ६ २०७६

काठमाडौं, ६ जेठ / स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा पनि युवायुवतीको ‘जिन’को कारण हुने गर्भमा हुर्किने बच्चाबारे गलत प्रचार गरी अवैध धन्दा चलाउँदै आएको पाइएको छ। राजधानीलगायत देशभर रहेका केही अस्पतालहरुले जो कोही श्रीमान्/श्रीमतीलाई ‘छोरा या छोरी’ कुन बच्चा आवश्यक छ, सोहीअनुसार मेडिकल प्रविधिबाट बच्चा जन्माइदिने भन्दै लाखौँ रुपैयाँ शुल्क असुली गरेका केही कागजपत्र प्राप्त भएका छन् । यस अवैध कार्यमा पछिल्लो समयमा राजधानीको वसुन्धरास्थित रहेको ग्रिनसिटी अस्पतालबाट सो कार्य हुँदै आएको पीडितहरुले दुःखेसो गरेका छन् । सो अस्पतालले आवश्यक बच्चा के हो ‘छोरा या छोरी’ बताएपछि सोहीअनुसार बच्चा जन्माइदिने भन्दै सादा बिलमा शुल्क उल्लेख गरी असुली गर्दै आएको पाइएको हो ।

सो अस्पतालले ग्यारेन्टीका साथ छोराको अवश्यकता भए छोरा नै र छोरीको अवश्यक भए छोरीकै जन्म गराउने दाबी समेत गरेको छ । विद्यमान जीवनचक्रलाई चुनौती दिँदै आएको अस्पतालले अहिलेसम्म कति सो काम ग-यो भन्ने रेकर्ड भने भेटिएको छैन । अस्पतालले टीयूएफको डिपोजिट भन्दै साधारण बिलप्याडमा १ लाख ७५ हजार रुपैयाँको बिल दिएको पाइएको छ । मानिसको स्वास्थ्यजस्तो संवेदनशील कुरामा राज्यका निकाय मौन बसेपछि निजी अस्पतालले विभिन्न नाममा ब्रह्मलुट नै गर्दा समेत कुनै कारबाही हुनसकेको छैन । एउटा अस्पतालको नामबाट भएको करोडौँको करछली र उक्त अवैध कार्यतर्फ सरकारको ध्यान जानसकेको छैन  ।

देशकै नमूना अस्पताल बनाउने भन्दै गुल्मी जिल्लाको हर्दिनेटा गाविस ७ चोयगामा २०२१ सालमा जन्मिएका लोकबहादुर टण्डन अहिले सो ग्रिनसिटी अस्पतालको अध्यक्ष रहेका छन् । तत्कालीन समयमा गैरकानुनी तवरबाट सञ्चालन भएको युनिटीको लगानीबाट स्थापना भएको सो अस्पताल अहिले एकलौटी बनाएर अध्यक्ष टण्डनले अवैध धन्दा चलाउँदै आएको आरोप स्थानीय बासिन्दाहरुको छ । यसरी अवैधरुपमा संकलन गरेको रकमबाट यति हेल्थ साइन्स कलेज, टण्डन ग्लास हाउस लगायत विभिन्न व्यवसायसमेत चलाउँदै आएका छन् । सो सम्बन्धमा पटक–पटक टण्डनसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । उनको मोबाइलमा फोन घण्टी गए पनि उनले फोन ‘रिसिभ’ गरेनन् ।

अर्कोतर्फ अस्पतालले कुमारित्व गुमाएका महिलालाई पुनः कुमारित्व फर्काइदिने भन्दै अवैध धन्दा चलाइरहेको छ । यही धन्दाको हल्लाका भरमा उपत्यकाका केही निजी अस्पताल र निजी क्लिनिकमा अहिले बच्चा जन्माइसकेकादेखि लिएर विभिन्न कारणले कुमारित्व गुमाएका महिला कुमारी होइन्छ भनी दौडधूपमा लागेका छन् । नेपाली परिवेशमा कुमारित्वलाई शारीरिक सम्बन्ध नराखेकी स्त्री भन्ने सामान्य अर्थ लगाइन्छ । स्वास्थ्य विज्ञानले महिलाको योनिमा हुने झिल्ली अर्थात् हाइमिन नटुटेमा त्यसलाई कुमारित्व अर्थात् भर्जिनिटी रहेको भन्ने बुझाउँछ । उपत्यकाका ठूला भनिएका अस्पतालदेखि स–साना पोलिक्लिनिकले पनि ‘भर्जिन’ बनाउने धन्दा चलाइरहेका छन् ।

उपत्यकामा नाम चलेका अस्पतालहरू काठमाडौं अस्पताल त्रिपुरेश्वर, ग्रान्डी धापासी, केएमसी सिनामंगल, ओम अस्पताल, चाबहिल, मनमोहन अस्पताल छाउनी, अल्का अस्पताल, ग्रिनसिटी अस्पताललगायतले यस्तो अवैध धन्दा चलाउँदै आएको भेटिएको छ । सो विषयमा आएकाहरुसँग अस्पतालले न्यूनतम प्रतिव्यक्ति ७५ हजार रुपैयाँदेखि माथि जति पनि असुली गर्दै आएको पीडितहरुको भनाइ रहेको छ । उपत्यकाका अस्पताल र निजी स्वास्थ्य संस्थाहरूले कुमारित्व गुमाएका महिलालाई फेरि कुमारी बनाइदिने भन्दै गैरकानुनी र अनैतिक धन्दा चलाएका हुन् । महिलाहरूको भर्जिनिटी एकपटक गुमेपछि त्यो फेरि फर्काउन नसकिने स्त्रीरोग विशेषज्ञहरू डाक्टर भोला रिजालको भनाइ छ ।

तर पनि नेपालमा हुनै नसक्ने अप्रेसनको नाटक गरेर एकातिर कमाउ धन्दा भइरहेको छ भने अर्कोतिर सामाजिक मनोविज्ञानलाई समेत ख्याल गरिएको छैन । यस्तो धन्दा ठगी र झुटको खेतीबाहेक अरू केही नभएको सम्बन्धित क्षेत्रका विज्ञ डाक्टरको भनाइ छ । २०७४ सालमा चर्चित रहेको ‘सरोगेसी’को नाममा महिलाको शरीरमाथि खेलबाड र खुलेआम दलाली भएकाबारे समाचार प्रकाशन भएपछि स्वास्थ्य क्षेत्रमा अवैध धन्दाको कारोबार हुने गरेको ठहर भएको थियो । सो अवैध धन्दालाई सर्वोच्च अदालतबाटै अवैध भन्दै फैसला गरेपछि सो धन्दा केही नियन्त्रण भएको छ । तर, कमाउनकै लागि अस्पताल खोलेकाहरुले रातारात धनी बन्ने उद्देश्यका साथ असम्भव कुरालाई पनि गरिदिने भन्दै ठगी गरिँदै आएको छ । (आर्थिक दैनिकबाट)

प्रतिक्रिया
सम्बन्धित समाचार