बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

‘कोभिड–१९ को खोप आगामी वर्षको शुरुसम्ममा बन्ने’

बिहिबार, भाद्र ११ २०७७

काठमाडौं(जस)–विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यानडिलिएरले विश्वमा कोभिड–१९ को खोप आगामी वर्ष (सन् २०२१) को शुरुसम्ममा बन्ने विश्वास व्यक्त गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग कोभिड–१९ को अवस्था र बच्ने उपायका बारेमा कुराकानी गर्दै उनले धेरै देशले खोपको अध्ययनमा लागेकाले त्यो सफल हुने धारणा राख्नुभएको छ । रसिया, चीनलगायत देशमा खोपको परीक्षण अन्तिम चरणमा रहेको उनको भनाइ छ । खोप आइसकेपछि त्यसले कति समयमा र कसरी काम गर्छ भनी यकीन हुने उनको भनाइ छ । उनले भने, ‘खोपको डोज कति चाहिन्छ, पर्याप्त संरक्षण गर्छ गर्दैन, त्यसले कति समयसम्म काम गर्छ भन्ने हेर्नुपर्छ ।’
खोप तयार हुँदा दुई ठूलो परिमाणमा तयार हुने र पहिलो चरणमा जोखिममा रहेका समुदायले पाउने उनको भनाइ छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, अरु रोग भएका व्यक्ति पछि मात्रै सर्वसाधरणसम्म त्यो खोप पुग्नेछ । खोप सबै देशले पाउने उनले विश्वास व्यक्त गरे । उनले भने, ‘विकास भएको खोप गरिब देशले पनि सहुलियतमा वा निःशुल्क पाउने प्रणाली रहेको छ ।’ भाइरस थुकलगायत छिटाबाट सर्ने हुँदा त्यसबाट जोगिएर रोगबाट बच्न सकिने उनको धारणा छ । माक्सको प्रयोग गरेर र अरु व्यक्तिसँग दूरी कायम गर्नुपर्ने उनको सुझाव छ ।
नेपालमा स्वास्थ्यकर्मीलाई भइरहेको नराम्रो ब्यबहारका कारण कुनै दिन अस्पतालमा डाक्टर र नर्स नहुन सक्नेतर्फ उनले सबैलाई सजग गराउनुभएको छ । कसैले पनि आफूलाई संक्रमण नहोस् भन्ने चाहेको भन्दै उनले स्वास्थ्यकर्मलाई दोष लगाउन नहुने बताए । उनका अनुसार आफू जोखिममा रहेर पनि नियमित रुपमा उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई सबैले सम्मान गर्न खाँचो छ । विश्वका सबै देशमा संक्रमितको उपचारमा अग्रपङ्तिमा रहेर उपचारमा संलग्न हुने भएकाले स्वास्थ्यकर्मी बढी जोखिममा रहने उनको भनाइ छ । सबै व्यक्तिको कल्याण स्वास्थ्कर्मीमा निर्भर रहने उनले बताए । उनले भने, ‘कोभिड र त्यसबाहेकका अरु रोगको उपचारका लागि स्वास्थ्कर्मी नै चाहिन्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार