बिहिबार, भाद्र ११ २०७७
काठमाडौं(जस)–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९)को संक्रमितमा लक्षण नभएका र सामान्य अवस्था भए बिरामीलाई घर पठाउन निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै कोभिड–१९ अस्पताललाई पत्र लेख्दै कोभिड–१९ का लक्षण नभएका र सामान्य अवस्थाका संक्रमितलाई पिसिआर परीक्षण गरी बढीमा १४ दिनभित्र घर पठाउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
‘केन्द्रले कोभिड–१९ को लक्षण नभएको र सामान्य अवस्थाका बिरामीलाई १० दिनमा पिसिआर गरी डिस्चार्ज गरेर घर पठाउन निर्देशन दिएको छ’, उनले भने, ‘यही १० दिनमा संक्रमण पुनः देखिएका १४ दिनभित्र पिसिआर परीक्षण नगरिकन डिस्चार्ज गर्न प्रदेश मन्त्रालयलाई र सबै कोभिड–१९ अस्पतालाई निर्देशन पुनः दिइएको छ ।’
मन्त्रालयले १४ दिनभन्दा बढी लक्षण नभएका र सामान्य अवस्थाका संक्रमितका विरामीलाई अस्पतालमा नराख्न निर्देशन दिइएको हो । मन्त्रालयका प्रवक्ता डा. गौतमले १४ दिनभन्दा बढी राखेमा सरकारले सोध भर्ना नगर्नेसमेत जानकारी दिए । नेपालमा अहिलेसम्म ३४ हजार ४१८ जना संक्रमित फेला परेकोमा १४ हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् भने १९ हजार ५०४ जना निको भएर घर फर्किसकेका र १७५ जनाको संक्रमणको कारणले निधन भइसकेको छ ।
स्थानीय तहका कर्मचारी सरुवा नगर्न आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९)को महामारी भइरहेको बेला स्थानीय तहका कर्मचारीलाई कहिँकतै सरुवा नगर्न संघीय तथा सामान्य प्रशासन मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयका उपसचिव प्रमोद सिङ्खडाले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ को महामारीमा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई जहाँ छन्, त्यहीँबाट कामकाजको व्यवस्था मिलाउन सबै स्थानीय तहका पत्रचार गर्न अनुरोध गरेको जानकारी दिए ।
गत चैतमा सामान्यले पनि कोभिड–१९ को संक्रमण र विस्तारलाई रोक्नकालागि ‘हाल समायोजन भइ कार्यरत रहेका संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्यकर्मीलाई समायोजन÷पदस्थापना भएको स्थानमा जान रमाना रोकी कार्यरत निकायबाटै तलब भत्ता खानेगरी कामकाज मिलाउने’ निर्णय गरेको थियो । सोही अनुसार स्वास्थ्य मन्त्रालयले सामान्यलाई पत्र लेख्दै कात्र्तिक मसान्तसम्मका लागि स्थानीय तहमा जो जहाँ छन् त्यहीबाट कामकाज गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई पत्राचार गर्न अनुरोध गरेको छ ।
उपत्यकामा ३०१ सहित देशभरमा ८८५ नयाँ संक्रमित थप
काठमाडौँ उपत्यकामा ३०१ सहित देशभरमा ८८५ नयाँ संक्रमित थपिएका छन् । बुधबार थपिएका संक्रमितमध्ये ५८६ पुरुष र २९९ महिला रहेका छन् । योसँगै देशभरमा अहिलेसम्म संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरका १८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १३ हजार २५३ नमूना परीक्षण भएको थियो । हालसम्म छ लाख ३५ हजार २५२ नमूना परीक्षण भइसकेको छ ।
देशभरमा गरी पछिल्लो २४ घण्टामा ३८५ जना निको भएर घर फर्किएका छन् । हालसम्म घर फर्कनेको संख्या १९ हजार ५०४ रहेको छ । यो जम्मा संक्रमितमध्ये ६६ दशमलव छ प्रतिशत हो । देशभरमा क्वारेन्टिनमा रहनेको संख्या नौ हजार ८३२ रहेको छ । देशभर जम्मा १४ हजार ७३९ सक्रिय संक्रमितमध्ये आठ हजार ७११ संस्थागत आइसोलेसन र छ हजार २८ होम आइसोलेसनमा रहेका छन् । प्रदेशअनुसार, संस्थागत आइसोलेसनमा सक्रिय संक्रमित प्रदेश १ मा एक हजार २६२, प्रदेश २ मा एक हजार ८८१, बाग्मती प्रदेशमा तीन हजार ३९, गण्डकी प्रदेशमा ३८७, प्रदेश ५ मा ७९४, कर्णाली प्रदेशमा ३५४ र सुदुर पश्चिम प्रदेशमा ९९४ रहेका छन् । त्यस्तै, होम आइसोलेनमा प्रदेश १ मा ३२२, प्रदेश २ मा तीन हजार ६७५, बाग्मती प्रदेशमा एक हजार ४९९, गण्डकी मा १८, प्रदेश ५ मा ४५४, कणार्ली प्रदेशमा २७ र सुदुर पश्चिम प्रदेशमा ७३३ रहेका छन् ।
देशभरमा गरी १५१ संक्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा १६, प्रदेश २ मा ४४, बाग्मती प्रदेशमा ७१, गण्डकी प्रदेशमा तीन र प्रदेश ५ मा १७ जना आइसियूमा रहेका छन् । प्रदेश १ मा एक जना र बाग्मती प्रदेशमा १३ गरी १४ संक्रमित भेन्टिलेटरमा रहेका छन् । मन्त्रालयको कल सेन्टरमा पछिल्लो २४ घण्टामा एक हजार ३६ कल प्राप्त भएको पनि डा. गौतमले बताए । मन्त्रालयको एप्स डाउनलोड गर्नेको संख्या एक लाख ७३ हजार ३६० रहेको छ । अहिलेसम्म स्वमूल्याङ्कन फारम भर्नेको संख्या ७६ हजार ७४७ छ भने रेड जोनमा पर्नेको संख्या ५८३ छ ।
पछिल्लो २४ घण्टामा देशरभका ४४ जिल्लामा नयाँ संक्रमित भेटिएका छन् । प्रदेश १ मा खोटाङमा एक, झापा १६, तेह्थुम आठ, पाँचथर चार, मोरङ १३ र सुनसरी ५३ छ । प्रदेश २ मा धनुषामा ४३, पर्सा एक, बारा २४, महोत्तरी १८, रौतहट २०, सप्तरी एक, सर्लाही १२० र सिराहा तीन छन् । त्यस्तै, बाग्मती प्रदेशमा काठमाडौँमा २३०, ललितपुर ४७, भक्तपुर २४, काभ्रेपलाञ्चोक २१, चितवन ४२, दोलखा दुई, धादिङ एक, मकवानपुर २४, रामेछाप एक र सिन्धुपाल्चोकमा एक संक्रमित पुष्टि भएको छ । गण्डकी प्रदेशमा कास्की चार, गोरखा एक, नवलपरासी पूर्व सात, लमजुङ २३ संक्रमित, प्रदेश ५ मा अर्घाखाँचीमा एक, कपिलवस्तु चार, दाङ १६, नवलपरासी दुई, प्युठान २२, बर्दिया एक, बाँके चार, रुपन्देही १९ र रोल्पामा एक संक्रमित फेला परेका छन् । कर्णाली प्रदेशमा जाजरकोट, दैलेख र सल्यानमा एकएक जना, सुर्खेत सात फेला परेका छन् भने सुदुर पश्चिममा कञ्चनपुरमा दुई, कैलाली २९, डढेलधुरा दुई, डोटी दुई र अछाममा २० संक्रमित फेला परेका छन् ।
थप ११ को मृत्यु
पछिल्लो २४ घण्टामा कोभिडका कारण थप ११ जनाको मृत्यु भएसँगै देशभरमा संक्रमणका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको छ । पछिल्लो बिवरणअनुसार, मृत्यु हुनेमा दुई महिला र नौ पुरुष छन् । मृत्यु हुनेमा मोरङ र भक्तपुरका एकएक महिला छन् । पछिल्लो २४ घण्टामा मृत्यु भएका पुरुषमा महोत्तरीका तीन कैलालीका दुई, बाराका दुई, बाँके र काठमाडौँका एक पुरुष छन् ।
छ जिल्लमा ५०० बढी संक्रमित, दुईमा सून्य
बुधबारसम्म देशभरका ७७ जिल्लामध्ये छ जिल्लामा संक्रमित ५०० बढी छन् भने दुई जिल्लामा सून्य रहेको छ । पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा मोरङ, रौतहट, बारा, सर्लाही महोतरी र काठमाडौँ रहेका छन् । त्यस्तै, हाल सङक्रमितको संख्या सून्य रहेका जिल्लाहरुमा मुस्ताङ र हुम्ला रहेका छन् ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij