बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

देशका विभिन्न स्थानमा रगतको अभाव, रक्तदानको लागि अपिल

आइतबार, भाद्र ७ २०७७

काठमाडौं(जस)–देशका विभिन्न स्थानमा रहेका विरामीलाई रगत अभाव भइरहेको छ । बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकोले केन्द्रीय रक्तसञ्चार सेवा लगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा अत्यन्तै न्यून सँख्यामा रगत स्टक रहेको छ । केन्द्रीय रक्तसञ्चार सेवाका प्राविधिक श्रवण श्रेष्ठका अनुसार शनिबार शनिवारको लागि बुक गरिएका क्याम्पहरु सबै स्थगित भएका छन् । उनका अनुसार विहिबार ३२ जना दाताहरुले केन्द्रमै आई रक्तदान गरेकाले ६४ पिन्ट रगत गर्न सकिएको तर थप ६१ जना रित्तोहात फर्किनुपरेको थियो । हिजो शुक्रबार २६ जनालाई फर्काउनुपरेको थियो ।
दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसुति, मुटु, क्यान्सर तथा मिर्गौला विरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक अपरेशन गर्नुपर्ने विरामीहरुका आफन्तहरु केन्द्रीय रक्तसञ्चार केन्द्रमा आइरहेका तर पर्याप्त रगत आपूर्ति गर्न नसकिएको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले जानकारी दिए ।
केन्द्रमात्र होइन् धरान, विराटनगर, चितवन लगायतका स्थानमा पनि रगत अभाव भइरहेको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । ती क्षेत्रका अधिकांश भागमा निशेधाज्ञा छ र वरिपरिका जिल्लाहरुबाट पहिलाजस्तो सहयोग हुनसक्ने परिस्थिति रहेको छैन । तर, नेपालगञ्जमा भने तुलनात्मक सहज देखिएको छ ।
रगत नपाए भक्तपुर जानु भन्ने अभियान सञ्चालन गरेको भक्तपुर केन्द्रले विगतको लकडाउनमा पर्याप्त रक्तसंकलन गरेपनि विगत १३ देखि कुनै क्याम्प आयोजना नभएकोले त्यहाँपनि अहिले रगतको स्टक समस्यामा परेको छ । तर, स्थानीय प्रशासन र पालिकाको सहमति लिई शनिवार विहान सुडालमा क्याम्प आयोजना गरिएको र त्यहाँ २ महिला र २४ पुरुषले रक्तदान गरिसकेका र अर्को एक स्थानमा रक्तदान शिविर चलिरहेको शाखाका मन्त्री परशुराम पाण्डेले जानकारी दिएका छन् ।
रगतको माग भइरहेकोले रक्तदाता, संघसंस्था र रेडक्रसका निकायहरुले सानो समूहमा भएपनि स्थानीय पालिका र प्रशासनको सहयोगमा रक्तदानको कार्यक्रम आयोजना गर्न गराउन गर्न सके रगत आपूर्ति सहज हुने निर्देशक पौडेलले बताए । उनले भने, नियमित रक्तदाता तथा यूवाहरुले नजीकका केन्द्रहरुमा गई रक्तदान गर्नसक्दछन् । विरामीको रक्तसमूहसंग मिल्ने साथीभाई, इष्टमित्रहरुसँग पहिल्यै सोधखोज, उत्प्रेरणा तथा अनुरोध गरेमा कुरुवा र आफन्तजनलाई पनि सजिलो हुनेछ । सुरक्षित तवरले रक्तदान गर्दा गराउदा कोभिड–१९ को जोखिम नरहने विश्व स्वास्थ्य संघले यस अघि नै स्पष्ट पारिसकेको छ ।
निषेधाज्ञामा रक्तदान स्थगन नगर्न आग्रह
कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको निषेधाज्ञा अवधिमा समेत रक्तदानका कार्यक्रम स्थगन नगर्न नेपाल रेडक्रस सोसाइटी कास्कीले आग्रह गरेको छ । बिरामीको उपचारका लागि अत्यावश्यक रगत मौज्दात कम हुँदै गएको र रक्तदानका कार्यक्रम स्थगन भइरहेकाले सोसाइटीले आवश्यक सुरक्षा उपाय र दूरी कायम गरी कार्यक्रम गर्न र कार्यक्रम नरोक्न विभिन्न सङ्घ संस्थामा आग्रह गरेको हो । भदौ १ गते यताका सबै कार्यक्रम स्थगन भएपछि रक्तसञ्चार केन्द्रमा आगामी दुई÷तीन दिनलाई पुग्ने बाहेक रगत नरहेकाले कार्यक्रम आयोजना गर्न र दुई वा दुई भन्दा बढी व्यक्तिले रक्तदान गर्न चाहेमा सम्वन्धित व्यक्ति रहेकै ठाउँमा रक्त सङ्कलन एम्बुलेन्समार्फत रक्तदानको प्रबन्ध मिलाईएको रेडक्रसका मन्त्री धर्मराज अधिकारीले बताए ।
त्यसैगरी व्यक्तिगत रूपमा रक्तदान गर्न चाहनेलाई प्रशासन तथा प्रहरीसँग समन्वय गरिएको र रक्तदातालाई कुनै पनि अवरोध नहुने भएकाले सुरक्षित तरिकाले क्षेत्रीय रक्तसञ्चार सेवासम्म लैजाने र फर्कने व्यवस्था मिलाइएको उनले जानकारी दिए । गण्डकी प्रदेशको राजधानी शहर पोखरासहित प्रदेशका विभिन्न जिल्लामा अहिले निषेधाज्ञा जारी गरिएको छ । गण्डकीका अन्य जिल्लाबाट समेत बिरामी रेफर भएर पोखरा आउने गरेकाले यहाँ रगतको माग उच्च रहने गर्दछ । पोखरामा दैनिक ७० युनिट रगतको माग हुने गरेको छ ।
रक्तदान नहुँदा रक्तसञ्चार सेवा केन्द्रमा रगत अभाव अवस्था आउन सक्ने र सुत्केरी महिला तथा मृगौलालगायत डाइलासिसका बिरामी प्रभावित हुन सक्ने अवस्थालाई ध्यान दुई वा सो भन्दा बढी व्यक्तिले रक्तदानको इच्छा गरेमा एम्बुलेन्स बस पठाउने गरिएको रक्तसञ्चार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले बताए । “साउनमा ३२ दिननै कार्यक्रम भएकाले त्यही मौज्दात रगतबाट अहिलेसम्म कसैलाई दुःख परेको छैन ।” ज्ञवालीले भने, “हामीसँग भदौ १० सम्म पुग्ने रगत छ, अब रक्तदान कार्यक्रम स्थगित नगर्नुहोस् र सचेत रक्तदाताले रक्तसञ्चारमा आएर भएपनि रगत दिनोस् भनेका छौँ ।” रक्तदान गर्न चाहनेले ०६१–५२१०९१, ९८५६०२११३१ र ९८५६०२७४४४ सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार