शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

अप्पर माछाखोला जलबिधुत आयोजनाको अभिमुखिकरण कार्यक्रम सम्पन्न

आइतबार, जेष्ठ ५ २०७६

गोरखा (जस)– “अप्पर माछा खोला साना जलबिधुत आयोजना” को एकदिने विशेष अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरूङ प्रमुख अतिथि र वडा अध्यक्ष राज गुरूडको अध्यक्षतामा धार्चे गाउँपालिकाको अनुरोध र वडा नं ४ लाप्राकको समन्वयमा भएको उक्त कार्यक्रममा स्थानीयको उत्साहजनक उपस्थिति थियो । कार्यक्रममा हाईड्रोपावर संचालकद्वय कृष्ण घिमिरे र सरोज धितालले आयोजनाको बारेमा विस्तृत प्रष्ट पारेका थिए । कार्यक्रममा बिषय बिशेषज्ञ चार्टड एकाउन्टेन्ट नारायण कँडेल तथा इन्जिनियर अशोक पोखरलले सम्बन्धित बिषयमा प्रष्ट पार्दै यही जेष्ठ २७ गतेसम्मलाई लगानी गर्न ईच्छुकहरूलाई प्रमोटर शेयरको समय सिमा तोकिएकोसमेत जानकारी गराईएको थियो ।

माछाखोलामा अप्पर माछाखोला जलविद्युत आयोजना निर्माणका लागि आवश्यक सबै काम सकेर निर्माणको काम अघि बढिसकेको हाइड्रोपावर संचालक कृष्ण घिमिरेले बताए । ‘निर्माणका लागि आबस्यक सबै प्रक्रिया सकी लाइसेन्स लिइसकेको र बाँध निर्माणका लागि एकसय रोपनी जग्गा समेत खरिद गरिसकेको घिमिरेले बताए । उनले– जग्गा खरिद प्रक्रिया सम्पुर्ण सकिएको, आयोजनालाई चाहिने सम्पुर्ण मोटरबाटोको निर्माण कार्य सम्पन्न भएको र ट्रान्समिसन लाईन र बिधुत प्रशारण लाईनको सम्झौता समेत सकिएर निर्माण कार्य शुरू भैरहेको समेत बताए ।

उनले भने–‘धार्चे वडा नं ४ को आयोजना क्षेत्रमा पर्ने सय रोपनी जग्गा खरिद प्रक्रिया पनि सकिएको छ । दुई किलोमिटर माथि बाँध बाँधेर रेसिफाँट आसपास पावरहाउस निर्माण गरिने छ । माछाखोला दोभानबाट आयोजनास्थल पुग्न चाहिने करीब ७ किलोमिटर लामो मोटरबाटो समेत निर्माण सकिएको छ । हामी झोलामा खोला हालेर हिड्दैनौं । काम धमाधम भइरहेको छ ।’ बाँधस्थलबाट तीन किलोमिटर पानी ल्याउने र २१० मिटर उचाइबाट पानी खसालेर विधुत उत्पादन गर्ने कुरा घिमिरेले बताए । घिमिरेले थपे– आफुहरुले पिपिए गर्दा दुई बर्षमा निर्माण सम्पन्न गर्ने भनिए पनि त्यो भन्दा छिटो निर्माण सम्पन्न हुने दाबी गरे । आयोजनाबाट उत्पादित विधुत नेपाल विधुत प्राधिकरणले खरीद गर्ने गरी विधुत खरीद सम्झौता(पिपिए) सम्पन्न भइसकेको समेत संचालक घिमिरेले जानकारी दिए । आयोजनासँग प्रधिकरणले हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्खामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा खरिद गर्ने गरि गत कात्तिकमा नै पिपिए भएको हो ।

त्यसैगरी आयोजना सञ्चालन गर्न वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदनसमेत तयार भइसकेको छ । आयोजनाको लागत ९६ करोड रहेको छ । जसमध्ये ७० प्रतिशत लगानी बैंकले गरेको र बाकि ३० प्रतिशत लगानी स्थानीय लगानीकर्ता र संचालक समितिले गर्ने बताइएको छ । विकास हाइड्रोपावरमा एनआरएनएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेसँगै नेपाल बिज्ञापन संघका सचिब कृष्ण घिमिरे, सरोज धिताल, विकास अधिकारी, सुनिलबाबु श्रेष्ठ र इन्द्र ढकाल सञ्चालक समितिमा रहेका छन् । विकास हाइड्रोपावर कम्पनीले नै ४ दशमलव ५५ मेगावाटको अप्पर माछाखोला जलविधुत आयोजनासंगै १० मेगावाटको निम्रुङखोला जलविधुत आयोजना निर्माण गर्न लागेको हो । यस आयोजनाका प्रमुख लगानीकर्ताहरुमा एनआरएन पदाधिकारीहरु छन । अहिले लगभग १४.५५ मेगावाटको दुई हाइड्रोपावर निर्माण कार्य शुरु भएको छ । धार्चे गाउँपालिको माछाखोलामा “अप्पर माछाखोला जलविद्युत आयोजना” शुरु भइसकेको छ भने १० मेगावाटको निम्रुङखोला जलविधुत आयोजना निर्माणको अन्तिम तयारी तयारीमा रहेको छ । लाप्राक र सिङ्लाको बीच भाग भएर बग्ने धार्चे ५ को माछाखोलाबाट “विकास हाइड्रोपावर कम्पनीले” ४ दशमलव ५५ मेगावाटको जलविद्युत उत्पादनका लागि काम शुरु गरेको कम्पनीका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ(एनआरएनए)मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले पनि बताए ।

विकास हाईड्रो पावरमा प्रमोटर शेयर लगानी गर्न ईच्छुकलाई जेठ १५ गतेसम्मको समय थप गरिएको बारे संचालक घिमिरेले प्रमोटर शेयर लगानी गर्न इच्छुक धेरै स्थानीय र गैरआवासीय नेपाली साथीहरुको आग्रहलाई कदर गर्दै समय थप गरिएको बताए । उनले प्रमोटर शेयर लगानीको कार्य हुदै गर्दा पनि हाईड्रोको काम चाहिं भईरहनेसमेत बताए । घिमिरेले स्थानीयसँगको सहकार्यबाटै कम्पनीले निर्माण गर्न लागेको निम्रुङ्ग खोला हाईड्रोपावर र अप्पर माछा खोला हाईड्रोपावर दुवै आयोजना समयमै सम्पन्न गर्ने समेत बताए । घिमिरेले विकास हाइड्रोका लगानीकर्ता गोर्खाली नै भएकाले काम गर्न पनि सजिलो भएको र कम्पनीले स्थानीयसँग सहकार्य गर्दै अगाडी बढने प्रतिबद्धतासमेत व्यक्त गरे ।




प्रतिक्रिया
सम्बन्धित समाचार