बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

नेपाली व्यवसायी संघ कतारले स्वदेश फिर्ता हुन नसकेका पीडित नेपाली कामदारलाई हवाई टिकट सहयोग गर्ने, यस्तो छ प्रक्रिया

शुक्रबार, साउन २ २०७७

दोहा, कतार । कोरोना कहर र यसबाट प्रभावित भई समस्यामा परेका नेपालीहरूलाई उद्धार गर्न कतारस्थित नेपाली व्यवसायी संघ कतारले सहयोग गर्ने भएको छ । संघका अध्यक्ष महेन्द्र चम्लागाईले जनसवाल राष्ट्रिय दैनिकसँग कुरा गर्दै स्वदेश फिर्तीको लागि २० वटा हवाई टिकट कतारस्थित राजदूतावासको समन्वयमा समस्यामा परेका नेपालीलाई उपलब्ध गराउने जानकारी दिए ।

‘रोजगार गुमाई विषम परिस्थितिमा शृजना भएका, उच्च मानशिक तनाव व्यहोर्नु परेका, कोभिड १९ बाहेक अन्य विरामी भएका तर हवाई उडानको लागि अनुमति पाएका (फिट टू फ्लाईट) तर, हवाई टिकट व्यवस्था गर्न नसक्ने वास्तविक पिडित छानविन गरि कतार स्थित नेपाली नियोगले प्रमाणित गरेको कामदारलाई मात्र उक्त टिकट उपलब्ध गराउने छौं,’ अध्यक्ष चम्लागाईले बताए।

कतारमा रहेका वास्तविक पीडितहरूले दूतावासमा सम्पर्क (ईमेल, फोन वा ह्वाट्सएप मार्फत) गरी निवेदन पेश गर्नु पर्ने र उक्त निवेदनका आधारमा एक विशेष समितिले कामदार छनौट गर्ने चौलागाईंले बताए । चम्लागाईले भने, “हामी सबैले आ(आफ्नो क्षेत्रबाट उद्धारको लागि प्रयास गर्न जरूरी छ। वास्तविक पिडितलाई उद्धार गर्ने कुनै सरकारी योजना देखिएको छैन तर हामीले नियोगलाई पनि केहि टिकट उपलब्ध गराउँन अनुरोध गरेका छौं ।”

उनले थपे, “हामीले उपलब्ध गराउँने टिकट वास्तविक पिडितले पायो वा पाएन भन्ने मूल्यांकन गरेर मात्र टिकट जारी गर्नेछौं। हामीले संस्थागत पत्र दूतावासलाई उपलब्ध गराई २० जनाको लागि टिकट हामीले जारी गर्ने जानकारी गराइसकेका छौं।”

कतारबाट अहिले सम्म २४ सय नेपाली स्वदेश फिर्ता भई सकेका छन् भने अझै फिर्ता हुने क्रम जारी नै छ। नेपाल सरकारले वास्तविक पीडितको लागि कुनै योजना ल्याउन सकेको छैन भने टिकट काट्न सक्नेहरूलाई समेत समयमा उद्धार गर्न सकेको छैन।

नेपालीहरूको व्यवसायलाई प्रवद्र्दन गर्ने, अनुशासित र मर्यादित गर्ने तथा नेपाली व्यवसायीहरूलाई एकताको सुत्रमा बाँध्ने उदेश्यले शुरु भएको संघले विगत ३ वर्ष देखि सामाजिक कार्यमा निकै सक्रियता देखाउँदै आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार