बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

ढलबाट कोभिड– १९ को सङ्क्रमण फेला परेको प्रमाण छैन : स्वास्थ्य मन्त्रालय

सोमबार, असार २२ २०७७

काठमाडौँ(जस)–स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फोहर पानीको ढलमा कोभिड– १९ को सङ्क्रमण देखिएको प्रमाण कहीँकतै फेला नपरेको बताएको छ । आइतबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ढलको पानीमा कोभिड– १९ को भाइरसको पहिचान भए पनि यसको माध्यमबाट मानिसमा भाइरस सार्नसक्ने सम्भावना अध्ययनले पुष्टि नगरेको बताए । “हालै राजधानीको ढलको पानी नमूना परीक्षण गर्दा कोभिड– १९ को सङ्क्रमण देखिएको भन्ने दाबीप्रति ध्यानाकर्षण भएको छ”, उनले भने, “विश्वमा अन्यत्र भएको अध्ययनले कोभिड– १९ को सङ्क्रमित भएको अवस्थामा वा निको भएपछि पनि ढलका कोभिड– १९ को व्यक्तिको भाइरसको टुक्राटाक्री भेटिएको देखिन्छ जुन सामान्यता रोग सार्ने खालको हुँदैन ।”
ढलको पानीमा कोभिड– १९ को सङ्क्रमणको सम्भावना र अन्य सङ्क्रमण रोगका किटाणु प्रशस्त्रमात्रामा हुने हुनाले ढलको फहोर पानीको भने उचित प्रशोधन र व्यवस्थापन हुनु आवश्यक रहेको उनको भनाइ छ । मन्त्रालयका प्रवक्ता डा गौतमले ढलको पानीमा कोभिड– १९ को अंश भेटियो भन्दैमा समुदायमा सङ्क्रमण फैलिएर जटिल अवस्था सिर्जना भएको भन्न नमिल्ने बताए ।
“ढलमा हाल केकस्ता भाइरस भेटिएका हुन त्यसको आधिकारिकताको थप अध्ययन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा मन्त्रालयले गर्नेछ”, उनले भने, “ढलको पानीमा भाइरस देखियो भन्दैमा कुनै पनि व्यक्ति नआत्तिन र नडराउन अनुरोध गर्दछौँ ।” उनका अनुसार विभिन्न अध्ययन अनुसन्धानले कोभिड– १९ भाइरस सामान्य तापक्रमको पानी, क्लोरिन जस्तो जिवाणुनाशक औषधि राखिएको फोहर पानीमा वा अस्पतालबाट निस्कने ढलको पानीमा पनि दुई दिनसम्म बाँच्ने देखिएको छ ।
ढलको पानीमा आधारित इमिडोयोलोजी विधिले ढलमा रहको पानीका माध्यमबाट मानिसमा कोरोना भाइरस फैलिन्छ भन्ने विषय नभई सो पानीमा रहेको जीवाणु र विषाणुको पहिचान तथा मात्रा तय गरी त्यसका आधारमा समुदायमा सङ्क्रमणको अवस्था बुझ्न सकिने उनको भनाइ थियो । प्रवक्ता डा. गौतमका अनुसार कोभिड– १९ को सङ्क्रमण हुने मुख्य दुई माध्यमले सर्ने गर्दछ । तीमध्ये पहिलो श्वासप्रश्वासका माध्यमबाट सङ्क्रमति व्यक्तिले हाँछ्यु वा खोक्दा नजिकमा रहेका व्यक्तिलाई छिटाका माध्यमबाट सर्ने गर्दछ ।त्यस्तै सङ्क्रमित व्यक्तिको हातले कुनै वस्तु छोएमा त्यस्तो वस्तुमा भाइरस केही घण्टा जीवित हुने गर्दछ र त्यही व्यक्तिले छोएको ठाउँमा अन्य व्यक्तिले छुँदा, छोएको हातले मुख, नाक र आँखामा लैजादा भाइरस सर्ने बताइन्छ ।
२९३ सङ्क्रमित थपिए, १३२ डिस्चार्ज
कोभिड– १९ को सङ्क्रमण आइतबार २९३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मुलुकभरिका २५ प्रयोगशालामा गरिएको परीक्षणमा २९३ जनामा सङ्क्रमण देखिएको बताए ।
आइतबार देखिएका सङ्क्रमणसँगै सङ्क्रमित सङ्ख्या १५ हजार ७८४ जना रहेको छन् । उनका अनुसार आइतबार १३२ जना कोभिड–१९ सङ्क्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म छ हजार ५४७ जना सङ्क्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म सङ्क्रमितमध्ये ४१.५ प्रतिशत बिरामी सङ्क्रमणबाट मुक्त भएका छन् । आइतबार चार हजार ७१० जनाको पिसिआर परीक्षण गरिएको छ । नौ हजार २०३ जना सङ्क्रमित आइसोलेशनमा रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् ।
पिसिआर परीक्षणलाई तीव्रता दिन आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले कोरोना बढी सङ्क्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रण गर्न र पिसिआर परीक्षणलाई तीव्रता दिन आग्रह गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईद्वारा आइतबार यहाँ जारी प्रेस विज्ञप्तिमा काठमाडौँ उपत्यका जस्तो घनाबस्ती भएका ठाउँमा समुदायमा कोरोना सङ्क्रमण फैलिएमा स्थिति भयावह हुन सक्नेतर्फ बेलैमा ध्यान पु¥याउन र पिसिआर परीक्षणलाई तीव्रता दिई नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न सरकारलाई पुनः आग्रह गरिएको छ ।
कोभिड–१९ को सङ्क्रमण पछिल्लो समय नेपालमा पनि उच्चस्तरमा फैलँदै गइरहेको अवस्थामा उपत्यकाका ढलहरूमा समेत कोरोनाको भाइरस भेटिएको भन्ने सञ्चारमाध्यममा सार्वजनिक भएकाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । नेपाल बार एसोसिएशन, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घसँगको सहकार्यमा देशभर कोभिड–१९ को सन्दर्भमा मानव अधिकार अवस्थाको अनुगमन गरी अनुगमनबाट प्राप्त तथ्यका आधारमा यसअघि पनि पिसिआर परीक्षण बढाउन तथा क्वारेन्टिनहरू व्यवस्थित गर्न पटकपटक सरकारलाई आग्रह गर्दै आएको स्मरण आयोगले विज्ञप्ति मार्फत् गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार