बुधबार, असार ३ २०७७
सम्माननीय प्रधानमन्त्री ज्यू
नेपाल सरकार ।
मार्फत नेपाली दुतावास कतार
विषय : ज्ञापन पत्र सम्बन्धमा ।
महोदय,
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मिति २०७७ साल जेठ २६ गते पार्टी सभापति मा. शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले नेपालमा कोभिड १९ को महामारी, त्यसबाट उत्पन्न परिस्थिति, तत्कालिन एवं दीर्घकालिन प्रभाव र नेपाल सरकारको भूमिका र तत्काल गर्नु पर्ने कार्य बारे गहन छलफल गरि महत्वपूर्ण निर्णयहरु गरेको छ । सोहि बैठकको निर्णय अनुसार नेपाल सरकारको ध्यानाकर्षण ज्ञापन पत्र साथ गर्न चाहन्छौ ।
१. नेपालमा २०७६ साल माघ ९ गते कोभिड १९ को पहिलो संक्रमित व्यक्ति फेला परेको हो । सरकारी तथ्याङ्क अनुसार आज सम्म नेपालमा मात्रा कोभिड १९ को कारण १९ (उन्नाइस ) जना नेपालीको मृत्यु भैसकेको छ । देशभरिमा ५,३३५ (पाँच हजार तीन सय पैन्तिस ) जना संक्रमित छन् । १,६५,७७५ (एक लाख पैसठ्ठी हजार सात हजार पचहत्तर) मानिस क्वारेन्टीनमा छन । कोभिड १९ कै कारणले उत्पन्न परिस्थितिमा कैयन नागरिकहरुले अन्य रोग, भोक, मानसिक तनावले जीवन गुमाइसकेका छन् । नेपाल बाहिर पनि विदेशमा विभिन्न मुलुकमा नेपाली नागरिको मृत्यु १३० र २७००० संक्रमित भएका छन । कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनु हुने सबै नेपाली दाजुभाइ–दिदिबहिनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ । संक्रमित सबैमा शिघ्र स्वास्थलाभको कामना गर्दछौ ।
२. हाम्रो पार्टीको आब्हानमा नेपाली कांग्रेसका नेता, पार्टी सदस्य, भातृ एवं शुभेच्छुक संस्थाका साथी तथा सबै शुभेच्छुकहरु देश भित्र देश बाहिर आ–आफ्ना ठाँउबाट कोभिड १९ विरुद्धको लडाईमा क्रियाशिलतापूर्वक काम गरिरहेका छन । विदेशमा पनि नेपाली जनसम्पर्क समिति र अन्य शुभेच्छुक साथीहरु जोखिम मोल्दै अहोरात्र खटेर काम गरिरहेका छन । यो कार्य निरन्तर जारी रहने छ ।
३. नेपाली कांग्रेस र जनसंपर्क समितिले प्रारम्भ देखिनै कोभिड १९ को जोखिम, यसबाट उत्पन्न हुने तत्कालिन एवं दीर्घकालिन नकारात्मक प्रभाव, यस विपदबाट उत्पन्न समस्यालाई न्यूनिकरण गर्ने र देश र जनतालाई जोगाउने उपाय बारे सुक्ष्म रुपले अध्ययन र विश्लेषण गर्दै कोभिड १९ विरुद्धको लडाईमा सरकार लगायत सबैलाई सदैव साथ सहयोग दिने र सबै नेपाली एकताबद्ध भई यो विपद्का विरुद्धमा लड्ने हाम्रो प्रतिवद्धता रहि आएको छ । नेपाली जनसम्पर्क समितिले सदासय तवरले काम गर्दै बिदेशमा नेपाली दुताबास र एनआरएन आवस्यक सहयोग र सुझाव निरन्तर दिई रहेको तपाईलाई स्मरण गराउन चाहन्छौ ।
४. नेपाली कांग्रेस र जनसंपर्क समितिको निरन्तरको सहयोग, संचार माध्यम, नागरिक समाज र आम जनताको साथले सृजना गरेको अनुकूलताको वावजुद पनि सरकारको अकर्मण्यता, असक्षमता, असंवेदनशीलताको कारण कोरोना संक्रमण विरुद्धको लडाईमा अनपेक्षित क्षति वेहोर्न परेको छ । हाम्रो सुझावलाई मनन् गरेर समयमा उपयुक्त कदमहरु चालिएको भए यस्तो अवस्था कदाचित हुने थिएन ।
५. समयमा सामग्रीको आपुर्ति गरिएन । विश्वब्यापी रुपमै भरपर्दो नदेखिएको अविश्वसनीय परिणाम आउने ¥यापिड टेस्ट अहिलेसम्म भईरहेको छ । पिसिआर विधिवाट अत्यन्त न्यून (जम्मा ०.३२ प्रतिशत मात्र) परिक्षण भएको छ । देशभरिनै क्वारेन्टाईन साह्रै अव्यवस्थित छन । क्वारेन्टीनको उचित व्यवस्थापन नभएका कारण क्वारेन्टाईनबाट नै संक्रमण फैलिरहेको छ । क्वारेन्टाईनमा नै मानिसहरुको मृत्यु भएको छ । मृत्युपछि र दाहसंस्कार गरिसकेपछि कोभिड १९ पोजिटिभ देखिने गरेका घटनाले परिक्षणको दयनीय अवस्थालाई उजागर गरेको छ । क्वारेन्टाइनमा दिनानुदिन मानिसको संख्या बढिरहेको छ तर किट र प्रयोगशालाको अभावमा परिक्षणको गति शून्य प्रायः छ । फलतः संक्रमितको एकिन संख्याको जानकारीे छैन । कतिपय स्थानमा अहिले स्वाव लिने काम पनि बन्द गरिएको छ । लामो समयसम्म स्वावलाई प्रयोगशालामा राखी ढिलो गरी परिक्षण गर्ने कामले सही परिणाम नआउने खतरा छ । सरकारले मिति २०७७।०२।२० गते कोभिड १९ बारे जारी गरेको राष्ट्रिय परिक्षण निर्देशिकामा पोजिटिभ केसहरुलाई सिमटम फ्री (क्थmउतयm ँचभभ) भएको तीन दिन र जम्मा १४ दिनको भर्ना, आईसोलेसनपछि टेष्टनै नगरि डिस्चार्ज गर्ने अत्यन्त गैर जिम्मेवार नीति लिएको छ । यो सरकारको जनताका स्वास्थ प्रतिको असंवेदनशीलताको हो । आवश्यकताको आधारमा न्यायपूर्ण ढंगले राहतको वितरण भएन ।
६. सरकारले लक डाउनलाई ठिक ढगंले उपयोग गरेन । यस बीचमा सरकारले अस्पतालको क्षमता, गुणस्तर वृद्धि गर्ने तर्फ पटक्कै ध्यान दिएन । संक्रमितहरुलाई अस्पतालमा राखेर उपचार गर्न नसक्ने अवस्था सिर्जना हुँदैछ । कोभिड १९ बाहेकका मुटु, क्यान्सर, फोक्सो, मृगौला, गर्भावस्थामा रहेका महिलाहरुको, चोट पटक लाग्ने लगायतका विभिन्न विरामीहरुको स्वास्थ्य उपचारको उचित व्यवस्थापन हुन सकेको छैन । सरकारी अस्पतालहरु यसमा सक्षम देखिएका छैनन् । निजी अस्पतालहरुलाई पनि सरकारले उचित समन्वय गरी सेवा उपलब्ध गराउन सकेको छैन ।
७. राष्ट्रिय विपतिको यस्तो अवस्थामा स्वास्थ्य सामग्री खरीदमा पटक पटक अनियमितता तथा भ्रष्टाचार भएको घटनाले सबै नागरिकलाई स्तब्ध बनाएको छ । कमीसनको कारणले सामग्री आपूर्तिमा ढिलो भएको छ । सरकारले दश अर्ब खर्च भएको भनेको तर सो अनुसार काम देखिएको छैन ।
८. स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी र पत्रकारहरु अग्रपंक्तिमा रहेर आफ्नो कार्य सम्पादन गरिरहेका मानिसहरुको न व्यक्तिगत सुरक्षाको उचित प्रबन्ध छ न उनीहरुलाई प्रोत्साहित गर्ने कुनै नीति, योजना छ ।
९. भारतबाट आएका नागरिकलाई समयमा नै परिक्षण गरि सुरक्षित ढंगले घर पुर्याउनु पर्दथ्यो । सरकारले दुबै देशबिच आ–आफ्नो देशमा प्रवन्ध गरेर राख्ने व्यवस्था भएको छ भनि भ्रामक कुरा गर्यो । विभिन्न देशमा नेपाली दिदीबहिनी–दाजुभाइहरु विचल्लीमा परेका छन् । विदेशमा विविध कारणले जीवन गुमाएका नेपालीको शव ल्याउन नसक्दा परिवारजनले असिम पीडा भोगिरहेका छन् । विदेशमा समस्यामा रहेका नेपाली नागरिकको उद्धार गर्ने काम भएको छैन ।
१०. साना ठूला हजारौं उद्योग व्यवसाय बन्द छन् । लाखौं श्रमिक र साना उद्यमी व्यवसायी वेरोजगार भएका छन् । विदेशबाट लाखौं नेपाली फर्किदै छन् । नागरिकहरुको आर्थिक अवस्था नाजुक भएको
छ । उद्योग व्यवसाय तथा कृषि क्षेत्रलाई चलाएमान गर्न र नागरिकको जीवनमा आएको आर्थिक संकटलाई कम गर्न सरकार गम्भीर भएको छैन ।
११. कोरोना महामारीको निवारण र नियन्त्रणको सन्दर्भमा सरकारको आज सम्मको रवैया हेर्दा यो दुःख र पीडाको घडीमा सरकार जनताको साथमा देखिएको छैन । समग्रमा नेपाल सरकार कोभिड १९ को जोखिमपूर्ण अवस्थामा जिम्मेवार, संवेदनशील, गम्भीर र सक्षम हुन सकेको छैन । प्रमुख प्रतिपक्ष र अन्य सबैको निरन्तरको साथ र सुझावका बावजुद सरकार कोरोना विरुद्धको संघर्षको सक्षम ढंगले नेतृत्व गर्न, कोभिड १९ को महामारी नियन्त्रण गर्न र देश र जनतालाई विपद्वाट सुरक्षित राख्न पूर्ण रुपले असफल भएकोे छ ।
१२. हामी सरकारसंग कोभिड १९ को प्रकोप नियन्त्रण गरि देश र जनतालाई विपद्बाट जोगाउन तत्काल निम्न लिखित कार्य गर्न पुनः माग गर्दछौ ।
(क) विदेशवाट नागरिकको उद्धार : विदेशमा विचल्लीमा परि घर आउन चाहने नेपालीहरुलाई सुरक्षित तवरले मर्यादापूर्वक अविलम्व स्वदेश ल्याउने व्यवस्था गरियोस् । विदेशमा विविध कारणले जीवन गुमाएका नेपालीको शव ल्याउन आवश्यक काम होस् । सरकार ले जम्मा २५००० नागरिक लाई स्वदेस आउन दिने भनी सँख्या किटान गरिनु आँफैमा हास्यास्पद छ र विश्वभरी रहेका नेपाली नागरिक जो कोही पनि स्वदेस फर्कन पाउने ब्यस्था गरियोस । नेपाल पुगे पछी पनि बस भाडा र क्वारेन्टाइन शुल्क लिने काम बन्द गरियोस ।
(ख) चाटर फ्लाइट को भाडा : नेपाल सरकार ले हालै मात्र विदेशमा विचल्लीमा परेकालाई घरफिर्तिको कुरा गर्दै चार्टर फ्लाइट मार्फत घर फिर्ती गर्ने कुरा लाई हामी स्वागत गर्दछौ तर चार्टर फ्लाइट को नाउमा कमाउ धन्दा सुरु भएको प्रती हाम्रो गम्भीर ध्यान आकृष्ट भएको छ । लामो समय देखि तलब बिहिन भएर बसेका श्रमिकहरुलाई निशुल्क उद्धार गर्न सरकारलाइ जोडदार माग गर्दछौ l
ति बाहेक अन्य समस्याले नेपाल फर्किनु पर्नेहरुका हकमा सरकार ले तोकेको भाडा दर सामान्य अवस्थाको २ तर्फी भाडा भन्दा पनि बढी भएको ले कम्तिमा यो भाडा दर आधा बनाइयोस हाम्रा एयरलाइन्सले त्यो भार थेग्न नसक्ने भए बरु केहि समयका लागि अन्य एयरलाइन्सहरुलाई अनुमति दिएर चर्को भाडाको मार बाट नागरिकलाइ राहत प्रदान गरोस । सरकारले राजनीतिक आस्था र आग्रहका आधारमा हेरेर फिर्ती गराउने कार्य नगरोस । साथै फिर्ती
प्रक्रियाको लागि भरिने फारम साधारण श्रमिक ले भर्न नसक्ने खाल्को छ त्यसलाई सहज बनाउने कार्य गरियोस ।
(ग) क्वारेन्टाइन व्यवस्थापनः मापदण्ड अनुसार क्वारेन्टाइनको उचित व्यवस्थापन र संचालन गरी पिउने पानी, खाना, सुरक्षित दूरी सहित बस्ने व्यवस्था, शौचालय, उमेर र स्वास्थ्य अवस्थाको अभिलेख तथा नियमित स्वास्थ्य निगरानी, आवश्यक औषधी, एम्बुलेन्स, परिक्षण तथा नियमित परामर्शको व्यवस्था गरियोस् । क्वारेन्टाइन संचालन गर्न स्थानीय सरकारलाई आवश्यक आर्थिक र प्राविधिक स्रोत तत्काल उपलब्ध गरियोस् । सरकारले राजनीतिक आस्था र आग्रहका आधारमा स्थानिय तहलाई हेरि रहेको छ । यस्ता कार्य तत्काल बन्द गरियोस् ।
(घ) स्वास्थ्य सामग्रीको आपूर्ति ः कोभिड १९ को नियन्त्रण र जनताको स्वास्थ्य सुरक्षाको लागि आवश्यक पर्ने सबै सामग्रीको तत्काल आपूर्ति गरियोस् । पिसिआर परिक्षणको दायरा विस्तारसँगै यसको क्षमता अभिवृद्धि गर्न आवश्यक किट, उपकरण, जनशक्ति र अन्य लजिस्टिक आवश्यकताको अविलम्व व्यवस्था गरियोस् ।
(ङ) परिक्षण ः विश्वसनिय प्रविधिवाट बढी भन्दा बढी नागरिको परिक्षणको व्यवस्था गरियोस् । पिसीआर परिक्षण गर्नु पर्नेको दायरा विस्तार गरी क्वारेन्टाइनमा राखिएका सबैलाई पीसिआर विधिबाट परिक्षण गरे पश्चात मात्र घर पठाउने, मृत्यु भएका व्यक्तिको शवको अनिवार्य स्वाव परिक्षण गर्ने, आइसोलेसनमा रहेका व्यक्तिको परिक्षण गरेर मात्र डिस्चार्ज गर्ने व्यवस्था गरियोस् ।
(च) नेपाल फिर्ता हुनेको व्यवस्थापन ः विदेशमा बिभिन्न तबरले विचल्लीमा परेका सम्बन्धित देशको आममाफी मा स्वदेस फर्कने बिशेषत दिदी बहिनी दाजु भाई हरुलाई हाम्रो समाजमा पुनर्स्थापित गराउन अत्यावस्यक देखिन्छ किन कि तिनिहरु अधिकाम्स लामो समय देश बाट बहिर रहेका र हाम्रो समाजले सहज रुपमा स्विकार नगर्न सक्दछ त्यस्तो भएमा उनिहरुले दोस्रो बाटो बिदेशको अथवा डिप्रेसन्मा गई लकडाउनको अवधिमा सयौ मानिसहरुले आत्महत्या
गर्ने सम्भावना बढी हुन सक्दछ साथै उनिहरुलाई सिप अनुसारको रोजगारीको पनि ब्यबस्था, यस्ता समस्याको समाधानका लागि सरकारले आवश्यक कार्य गरोस् ।
(छ) रोजगारी ः देश भित्र र बाहिर लाखौं नेपालीहरुले रोजगारी गुमाएको वर्तमान अवस्थामा देशमा व्यापक रोजगारीको सिर्जना गर्न आवश्यक छ । संसद कोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, राष्ट्रपति शिक्षा जस्ता कार्यक्रम हटाएर पालिकास्तरमा उत्पादनमुखी रोजगारीको व्यवस्था गर्न निर्देशिका सहित पालिकामा पठाईयोस् ।
(ज) राहत वितरण ः राहत दिनु पर्ने श्रमिक, बेरोजगार, विद्यार्थी, अपांगता भएका नागरिक र एकल महिला लगायतलाई न्यायोचित ढंगले राहत वितरण गरिने व्यवस्था गरियोस् । राहतका खाद्य सामग्रीको गुणस्तर कायम गरियोस् र राहतको वितरण भनसुन र राजनीतिक आग्रहका आधारमा गरिने काम बन्द गरियोस् ।
(झ) भ्रष्टाचार अनियमितता होईन पारदर्शिता ः राष्ट्र विपतमा रहेको बेला स्वास्थ्य सामग्री खरीद जस्तो विषयमा निरन्तर भ्रष्टाचार कमीसनको जालो भइरहनु निर्लज्ताको पराकाष्ठाहो । सरकार कोभिड १९ नियन्त्रण गर्ने कार्यका लागि १० अर्ब खर्च भएको भनिरहेको छ । त्यो खर्चको सम्पूर्ण विवरण सार्वजनिक गरियोस् । हालसालै पनि स्वास्थ्य सामग्री खरीदमा अनियमितता भएको विषय सार्वजनिक भएको छ । यी सबै भ्रष्टाचार, अनियमीतता बारे छानबिन गरीे तत्काल सार्वजनिक रुपमा जानकारी गरियोस् ।
(झ) आधुनिक कृषि र खाद्य सुरक्षा ः अहिलेको विपद्ले खाद्य अभाव भई भोकमरीको संकट आउने ठुलो सम्भावना छ तसर्थ बिदेस बाट आउने हरुलाई कृषि क्षेत्रमा लाग्ने प्रेरणा दिदै वर्तमान अवस्थामा कृषि क्षेत्रलाई आधुनिकी र यान्त्रिक्करण गर्न प्राथमिकतामा राख्नु आजको आवश्यकता हो । बीउ विजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदान मार्फत कृषक र कृषि क्षेत्रलाई तत्काल सहयोग पुर्याउने कार्य गरियोस् ।
(ञ) आर्थिक क्षेत्र ः अर्थतन्त्रलाई चलायमान गर्ने तयारी तत्कालै गर्न आवश्यक छ । देशका साना, ठूलो उद्योग, व्यापार, व्यवसाय ठप्प भएका छन । औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरु तथा सानोतिनो स्वःव्यवसाय गरी जिविकोपार्जन गर्ने उद्यमी र श्रमजीवीहरु ठूलो आर्थिक कठिनाईबाट गुज्रिरहेको छन । यस अवस्थामा साना, ठूलो उद्योग, व्यापार, व्यवसायको संरक्षण र तमाम श्रमिक मजदूर उद्यमीहरुको सहयोगलाई उच्च प्राथमिकतामा राखी ठोस राहत प्याकेज घोषणा गरियोस् ।
(ट) अस्पतालको व्यवस्थापन ः कोरोना संक्रमणको उपचारका लागि डेडिकेटेड अस्पताललाई आवश्यक उपकरण, सामग्री, औषधी, स्वास्थ्यकर्मीको सुरक्षा सामग्री, आइसोलेसन बेड र जनशक्तिको व्यवस्था अविलम्व गरियोस् । अन्य रोगका सम्बन्धमा सबै सेवा विना अवरोध पाउने सुनिश्चिता गरियोस् । लकडाउनको अवधिमा सयकडौं मानिसहरुले आत्महत्या गरेका छन् । यसले नागरिकको राज्यका प्रति चरम निराशा देखाउँछ । यस्ता समस्याको समाधानका लागि सरकारले आवश्यक कार्य गरोस् ।
(ठ) राष्ट्रियता को सवालमा राष्ट्रिय एकता : लिम्पियाधुरा, लिपुलेक र कलापानी सहित्को नेपालको भु भाग समाबेस गरेर नेपालको संबिधान को धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसुची ३ मा संघिय संसद बाट पारीत र पारीमार्जित नेपालको नक्सा को स्वागत गर्दै अब हामी भुमी फिर्ताको राष्ट्रिय अभियानमा दोस्रो चराणमा प्रबेस गरेका छौ नेपाल सरकार अब नक्सा हैन भुमी हाम्रो बनाउने अभियान मा कुट्नैतीक माध्यम बाट उच्च स्तरीय पहल गर्न माग गर्दछौ ।
(ड) दमन हैन युवा भावना को सम्बोधन गर : हालै का दिनमा देशका बिभिन्न भागमा भईरहेका प्रदर्शन लाई अहिले देखिएको महामारीमा सरकार सम्बेदनशील नभै सरकार कमाउने अभियान लागेको जनता भोकै मर्ने सत्ता रहने उच्च ओहोदा मा रहेका विलासी गाडी गलैचा र महलको सुख सयल तिर लागेको देखेर नागरिकमा निरास र आक्रोस जन्मनु स्वाभाबिक हो तसर्थ जनप्रदर्शन मा अभिब्यक्त जनभावनालाई सम्बोधन गर्न सरकार सँग माग गर्दछौ ।
जयनेपाल
कार्यवाहक सभापति
शंकर न्यौपाने
जनसंपर्क समिती कतार
महामन्त्री
मोहम्मद अजिज अली
जनसंपर्क समिती कतार
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij