काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशस्थित नेपाली फर्काउन संघले सरकारलाई सघाउने भएको छ । सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णयको गरेको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको निर्णयको स्वागत गर्दै प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गर्नुभएको छ । उहाँले अप्ठ्यारोमा परेका नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल फर्काउन गैरआवासीय नेपाली संघ सहजीकरणका लागि तत्पर रहेको बताउनुभएको छ ।
यसैबीच गैरआवासीय नेपाली संघले शनिवार आफ्ना राष्ट्रिय समन्वय परिषदहरुसँग छुट्टै छलफल गरेको छ । विश्वभर छरिएका ८० भन्दा बढी शाखाहरुमा कोभिड भाइरसले पारेको प्रभाव, राहत र उद्धारको बारेमा राष्ट्रिय समन्वय परिषदसँग छलफल गरिएको संघका महासचिव डा हेमराज शर्माले जानकारी दिनुभयो । छलफल मध्यपूर्वमा रहेका श्रमिकहरुको समस्याको बारेमा केन्द्रीत भएको संघले जनाएको छ ।
बैठकमा करिब तीन दर्जनभन्दा बढी देशस्थित राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुले आ–आफ्ना देशमा रहेका नेपालीका समस्याको बारेमा भनाइहरु राखेका थिए ।