निश्चल दाहाल
विश्व कोभिड १९ को चपेटामा रहेको यथार्थ अब कोहि बाट छिपेको छैन। मृत्युुदर सायद नै कम होला तर भ्याक्सिन वा कुनै औषधि नहुनु र यस्को संक्रमण फैल्याउने शैलिले सबैको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ। आज त्यो ढ्याङ्ग्रो बिदेशमा रहेका हाम्रा दाजु भाइ दिदी बहिनिमा अझ चोटिलो र असहज गरि बज्न थालेको छ, जुन जायज अवश्य छ।
इतिहासमा बिपी कोइराला पछिको शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलिको नेतृत्वमा बनेको सरकारले नेपाली नागरिकको रक्षा हेतु केही कदम बढाएको देखिन्न । केही निर्णय ती ज्यानहरुको लागि भएको छैन जुन ज्यानहरुले नेपाली ज्यान बचाइरहेका छन। ती हुन बिदेशमा छाला रगडाउदै खुन पसिना झार्दै पैसा पठाउने ज्यान । अझ कुरा गर्दा मध्यपुर्व को टन्टलापुर घाममा पोलेका ज्यान।
म ती ज्यानहरुको नै कुरा गर्दै छु जुन ज्यानहरु भुकम्पले देशलाइ कमाउदा खम्बा बनी उभिए, बाढिले देश बगाउदा पर्खाल बनी ठडिए, जाडोले देश कपाउदा न्यानो बनी फैलिए, गर्मीले देशलाइ पोल्दा शित्तल बनी बगे, भोकमरिले देशलाइ छोप्दा खाना बनी बाडिए। हो त्यही ज्यानहरु जस्ले हाम्रो देशलाई पालेको छ, हिडाएको छ, चिनाएको छ र हाम्रो देशलाइ आर्थिक रुपमा सबल बनाउदै छ।
करिब १८९ देशबाट नेपालले रेमिटेन्स मार्फत पैसा पाएको नेपाल राष्ट्र बैंकको बित्तीय बर्ष २०१८/२०१९को तथ्यांक छ जस्ले नेपालको आर्थिक अवस्थामा ठूलो सकारात्मक प्रभाव परेको हो। रेमिटेन्स नेपाली अर्थतन्त्रको मेरुदण्ड हो तर आज त्यही मेरुदण्ड खिइन्दै छ जस्को उपचार सम्भव हुदा हुँदै र सक्षम हुदा हुँदै सरकार गर्न हिच्किचाइ रहेको छ।
केही तथ्य तथ्यांकबाट हेरौ, नेपालले १८/१९ मा भित्राएको रेमिटेन्स ७८४ अरबमा भारत, मलेसिया र गल्फ मिलेर मात्र झण्डै ३१० अरब बढी रेमिटेन्स आएको हो, जुन देशमा रहेका नागरिक आज बिचल्लीमा छन। श्रम स्वीकृतिको लागि खाता हुन जरुरी, बिमाको नाममा मनग्य असुली साथै विभिन्न बाहनाका कर चुस्दै आएको नेपाल सरकारले आज त्यही रस चुसेर खोस्टा बनाइ रुदै गरेको नेपाली ज्यानलाइ परदेशमा नै सडाउदै छ।
उदाहरणको लागि युएइलाइ हेरौ, करिब ८५ अरब रेमिटेन्स पठाउने युएइका नेपाली मध्ये कति जना आज कोरोना संक्रमित छन भन्ने यकिन तथ्यांक त्यहाको नेपाली दुतावासले दिन सकेको छैन न त मृत्युु को नै। सडकमा कति बेवारिसे छ्न र कति कोठामा साघुरिएका छन यस्ता त कुरै छाडौ। यता नेपाल आफैमा २५० को छेउमा संक्रमित पुगिसक्दा र लकडाउनको अर्धसतक पार हुदा सम्म देशमा नै केही नगरेको सरकारबाट बिदेशमा रहेका नेपालिको हित सोच्नु त ब्यर्थ नै होला तथापी केही लज्जाबोध हुन्छ कि सरकारलाइ भनी दवाब दिन छोड्न त भएन नि!
गैर आवसिय नेपाली संघ युएइको क्युआरएफ समितिले ग्राउन्ड जिरोमा रहेर राहत वितरण गर्दै गर्दा २०० भन्दा बढि नेपाली संक्रमित पाएको छ, ७ जना नेपाली मरेको तथ्यांक छ। जिउदो उतै छन, लास सम्म देशमा आउन सकेन अब जिवित पनि लास नै भएर आउने हो त! होला यो भाइरस ज्यान लिने खालको हैन र आत्मबल अनि मनोबल बढाएर बस्नु पर्छ तर भोको पेट अनि खुल्ला गगन मुनिको सुताइले कुन बल बढाउने? संक्रमण बढ्दै जादा हस्पिटलमा बेड नपाएर कोठामा रुदै बसेको दृश्य हेर्दा पनि मन नपग्लने नेपाली नेतालाई के भनेर सम्बोधन गर्ने?
बिश्वभर संजाल भएको गैर आवासीय नेपाली संघले आर्थिक देखि हर कुरामा सहयोग गर्ने वचन बद्द्ता गरि रहेको समयमा एक शुत्रीय माग राखेर रोइ कराइ रहेका ती अत्यावश्यक देश फर्कनु पर्ने नेपालिलाइ किन ल्याइन्न? अझ भद्दा मजाक त गल्फलाइ राहतकोलागी सत्तरी लाखको बजेट?!!! एनआरएन युएइले आफ्नो राहत वितरणको ३५ दिन सम्ममा मात्र विभिन्न संस्था र सहयोगी मनको साथ लिएर करिब ३ लाख बराबरको राहत बाडी सक्यो। यस्मा पनि पहुँचको अभावले सिमित ठाउँ जान सहज हुन्छ। ब्याक्तिगत , अन्य संस्था, नेपाली समाज लगायत आदिको त हिसाब गरिएको छैन। अब युएइ जस्तै कतार बहराइन ओमान कुवेत आदिमा सत्तरि लाख भाग लगाएर कुन रेमिटेन्सको ब्याज तिर्न खोजेको हो? के झारा टार्ने काम गर्न खोजेको हो?
नेपालका अर्थमन्त्रीले सधनमा सम्बोधन गर्दा बिदेशबाट अझ नेपाली ल्याउने कुरो नभएको जस्तो भनिरहदा के सरकार लास गन्न बसेको छ भन्ने भान हुन थालेको छ। उता परदेशमा पिडामा छट्पटाएको मन र यता स्वदेशमा रहेका सोही परदेशिको आफन्तको, बियोगमा पोलेको मनको आगोको लप्का अब देश डढाउन ननिक्लेला भन्न सकिन्न। राजनितिक खिचातानीको भुमरिमा फसेर जनता प्रतिको दायित्व बिर्षने सरकारलाइ माफ कदापी गर्न सकिन्न।
यो समस्या जति जटिल देखाइएको छ के बास्तवमा छ त? के सरकार यति लाचार छ त? के सरकारमा यो समस्या समाधान गर्ने हुति र बुद्धि छैन त? देश अझ पनि लकडाउनमा छ, विद्यालय, कलेज आदि बन्द छन क्वारेन्टिन , आइसोलेसनमा राख्न ठाउँ पर्याप्त छ, मेडिकल चेक जाचको लागि यदि घोटाला नगर्ने हो भने सामन आउदै पनि छन। हुन त बिदेशबाट आउने आफै सरकारको बोझ बन्दैनौ भनिरहेका छन, छत सरकारले उपलब्ध गराओस खान र बस्न आफै ब्यवस्था गर्न र गराउन सक्छौ हामी। अनि के को असहजता?
लकडाउनको पचासौ दिन बित्दा बल्ल बल्ल गरेर पनि २०००० पिसिआर परिक्षण गर्न नसकेको सरकारले अब होसको दबाइ खाने बेला आएको छ। भारतको कुना कुनामा रोइ कराइ गरेका र सिमामा भौतारिएकालाइ भित्र्याउन जरुरी छ, खाडिमा बिचल्लीमा परेका , रोग भोक र सोकले तड्पेकालाइ आफ्नो देश ल्याउन जरुरी छ र नेपाल सरकारले यो कार्यमा अब बिलम्ब नगरोस।
अन्त्यमा, बिदेशिएका लाखौ मध्ये भलै हजारौ पिडित होलान जस्लाइ नेपाल आउन अत्यन्त जरुरी छ तर उनिहरुको परिवार यहाँ नेपालमा हिसाब गर्दा लाखौको संख्या हुन जान्छ सरकार!!! भोलि देशले थाम्न नसक्ने आन्दोलनको ज्वाला फुट्न सक्छ किनकी ज्यान भन्दा ठूलो केही हैन र लाखौ ज्यान बचाउन सयौ ज्यानको आहुती दिन हामी हिच्किचाउदैनौ। त्यही बिदेशमा हजारौ बिचल्लिमा परेकाको ज्यान जोगाउ भन्दै लाखौ परिवारका सदस्यहरु पुनः सडकमा उत्रन नपरोस।
महासचिव
गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, युएइ