शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कालापानी नजिक सशस्त्र प्रहरी बलको बिओपी स्थापना (फोटोफिचर)

बुधबार, बैशाख ३१ २०७७

काठमाडौं(जस)–कालापानी नजिक दार्चुलाको छाङरु क्षेत्रमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) राखेको छ । सरकारले पोष्ट स्थापनाका लागि बुधबारै नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ प्रस्थान गरेको थियो । गृहमन्त्रीको निर्देशनमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार पा.डा. इन्द्रजीत राई र सशस्त्रका एआइजी ईश्वरबाबु थापा काठमाडौंबाट दार्चुला पुगेर पोष्ट स्थापना गरेका हुन् ।

राई र थापाको टोली दार्चुला पुगेर त्यहाँबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली लिएर छाङरु पुगेका थिए ।
नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी सडक बनाएपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली खटाउने भएको हो । भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले गत शुक्रबार उद्घाटन गरेपछि सरकारले त्यस क्षेत्रमा सशस्त्रको टोली खटाएको हो । छाङरु भारतीय सीमाबाट एक किलोमिटरको दूरीमा पर्छ भने चीनको सीमा क्षेत्र १४ किलोमिटरको दूरीमा रहेको छ । पहिलो चरणमा सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटिने जनाइएको छ ।

छिट्टै गुल्म बनाइने प्रजिअको दाबी
दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) को सेवा आरम्भ भएको छ । काठमाण्डौबाट गएको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा र दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलसहितको टोलीले छाङरुमा बीओपीमार्फत सेवा सुरु गरेको हो । बीओपीको लागि दार्चुलाको खलङ्गाबाट निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी छाङरु गएका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

नेपाली सेनाको हेलिकप्टरले सशस्त्र प्रहरी र बन्दोबस्तीका सामानसहित तीन पटक छाङरुमा उडान गरेको थियो । १०र१० जनाले पूर्व र पश्चिमको ड्युटी गर्ने र पाँच जना हरेक बखत कार्यालयमा रहने गरी तालिका मिलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

अहिलेलाई घर भाडामा लिएर बीओपी सञ्चालन भएको र पछि आफ्नै भवन बनाएर गुल्म नै स्थापना गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । त्यसको लागि १५ रोपनी जग्गा र ११ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ । ‘अहिलेलाई भाडाको घरबाट उनीहरुले ड्युटी गर्नेछन्, पछि हामीले एक सय ६५ जना सशस्त्र रहने गरी गुल्म नै बनाउने छौँ, त्यसको लागि गृह मन्त्रीबाट छिट्टै नै पूर्वाधारको शिलान्यास हुँदैछ’, प्रजिअ पौडेलले भने ।

अहिले चीनको सिमा नजिकै तिङ्करमा १० जना नेपाल प्रहरी रहेको चौकी छ । यस्तै सितपुल भन्ने स्थानमा पनि १० जना प्रहरी रहेको चौकी छ । ‘बुधबार सञ्चालन भएको बीओपीसहित कालापानी वरपर गरेर तीन वटा चौकीमा ४५ जना प्रहरी छन्, अब एक चौकीलाई अर्काको भर पनि हुने भयो’, प्रजिअ अधिकारीले भने । भारतले नेपाली भूमि लिपुलेक मिचेर सडक बनाएपछि सरकारले कालापानी नजिकै प्रहरी राख्ने निर्णय गरेको हो । तर अहिले सरकारले बनाएकोे बीओपी कालापानी क्षेत्रभन्दा १० किलोमिटर पूर्व नेपालतर्फ रहेको छ । गएको मङ्सिरमै बीओपी राख्ने नेपाल सरकारले निर्णयमा ढिलाइ भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार