काठमाडौं(जस)–कोरोना परीक्षण तीव्र गतिमा भइरहेको सरकारले दाबी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मङ्गलबार भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले अहिलेसम्म पिसिआर विधिमार्फत १३ हजार ८ सय ५० जना र आरडिटी विधिमार्फत ५२ हजार २ सय २७ जनाको परीक्षण गरिएको जानकारी दिनुभयो ।
यस्तै अहिलेसम्म देशभरका क्वरेण्टीनमा २१ हजार ९९ जना र आइसोलेसनमा १ सय २० जना रहेको उहाँले बताउनुभयो ।
आज बिहान थप ७ जनामा कोरोनाको सङ्क्रमण देखिएसँगै सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ । १६ जना निको भएका छन् भने ६६ जनाको उपचार भइरहेको छ ।
कोरोनाको शङ्का लागेर अहिलेसम्म मन्त्रालयको वेभसाइट, मोबाइल एपमार्फत र फोन गरेर ३२ हजार जनाले फारम भरेका र उनीहरुले बताएका लक्षणका आधारमा ३ सय ३० जना ‘रेड जोन’मा परेका प्रवक्ता देवकोटाको भनाइ छ ।