काठमाडौं(जस)–काठमाडौँ उपत्यकामा लकडाउन उल्लघंन गर्ने तीन सय ६७ महिलासहित १५ सय ९८ जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार विहान ६ बजे देखि साँझ पाँच बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी एक हजार ८२ वटा दुई पाङ्ग्रे र एक सय ११ वटा चारपाङग्रे गरी ११ सय ९३ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडौँमा सबै भन्दा बढी एक हजार ३८, ललितपुरमा चार सय ५४ र भक्तपुरमा एक सय छ जनालाई नियन्त्रणमा लिएको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उनले आग्रह गरे । साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा १०६ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।
थाहा हुँदाहुँदै पनि लकडाउनको ३५ दिनको अवधिमा मुलुकभर कूल एक लाख सात हजार मासिनलाई नियन्त्रणमा लिएर कारवाही गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले बताए । उनका अनुसार कतिपयलाई केही घण्टा सडकमै उभ्याएर राख्ने गरएको छ भने कतिपयलाई सम्झाएर छाड्ने गरिएको छ । अझै उल्लङ्घन गर्ने, विना पास सवारी चलाउने, झुटा विवरण पेश गरेर सवारी चलाउने क्रम भने रोकिएको छैन ।
पछिल्लो समयमा लकडाउन उल्लङ्घनको घटना अझै वृद्धि हुन थालेपछि गृह मन्त्रालयको सोमबारको परिपत्रअनुसार मंगलबारदेखि मुलुकभर नै लकडाउन कार्यान्वयनमा थप कडाइ गरिएको गृह प्रवक्ता केदारनाथ शर्मा बताउँछन् । गृहको निर्देशन प्राप्त प्रहरीले थप कडाइका साथ सुरक्षा परिचालन गरेको र पास बिनाका गाडी आवतजावतमा पूर्णतः रोक लगाएको छ । अनावश्यक रुपमा निस्किएकालाई समेत थप कडाई गरिएको प्रहरी प्रवक्ता शाही बताउँछन् । मंगलबार अपराह्नसम्ममा एक हजार १०० गाडीलाई नियन्त्रणमा लिइसकिएको छ । सोमबार ९०० गाडी नियन्त्रणमा लिइएकोमा आज कडाई गर्दा नतिजा देखिएको उनको भनाइ छ ।
केही दिन अघिसम्म मानिस सडकमा अलपत्र परेर हिँड्ने अवस्था थियो । सरकारले गाडीको व्यवस्था गरेर जिल्ला जिल्लामा मानिसहरु पठायो । विभिन्न संस्था र स्थानीय तहको विशेष सक्रियता रह्यो । अहिले सडकमा त्यस्ता मानिस छैनन् । अभावमा परेका मजदूर तथा गरिब परिवारलाई सरकारले राहत वितरण गरेको छ । लकडाउनबाट प्रभावित भएकालाई आवश्यक सहयोग जारी रहेकाले सरकराको आदेश पूर्णतः पालना गरेर रोग विरुद्ध एकबद्ध हुन सरकारले अपिल गरेको छ । सीमा क्षेत्रको सुरक्षामा खटिएको शसस्त्र प्रहरीले दक्षिणी क्षेत्रको सीमामा थप कडाइ गरेको छ । सो क्षेत्रमा २२ हजार ५०० बढी शसस्त्र प्रहरी परिचालन गरेर सीमा निगरानी गरिएको छ । त्यसका लागि एक हजार २१३ सीमा सुरक्षा निगरानी चौकी स्थापना गरिएको शसक्त प्रहरीका नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले बताए । सरकारले यही ३१ गतेसम्म सीमा आवागमन रोक्ने निर्णय गरेको छ ।
सीमा क्षेत्रबाट आएका मानिसमा कोभिड–१९ देखिएपछि सरकराले दक्षिणी नाकालाई थप कडाइ गरेको छ । मुलुकमा गत चैत ११ गतेबाट लकडाउनको घोषण गरिएको थियो । मंगलबार ३६ औँ दिनमा लकडाउन चलिरहेको छ । सरकारले वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरिसकेको छ । अहिलेसम्म मुलुकमा ५२ जनामा कोभिड १९ पुष्टि भइसकेको छ ।