बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

बेलायती प्रधानमन्त्री जाेनसन नियमित काममा फर्किए, ‘लकडाउन खुकुलाे बनाइहाल्ने अवस्था छैन’

सोमबार, बैशाख १५ २०७७

काठमाडौं, १५ बैसाख । कोरोना भाइरस (काेभिड १९) बाट सङ्क्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोनसन उपचारपछि निको भएर आफ्नो नियमित काममा फर्किएका छन् ।

प्रधानमन्त्री जाेनसनले बेलायतमा सङ्क्रमणको उच्च खतरा कायमै रहेकाले लकडाउन कहिले खुला हुन्छ र कुन-कुन प्रतिबन्धलाई फुकुवा गर्न सकिन्छ भन्ने विषयमा अहिले नै भन्न सकिने अवस्था नरहेको जानकारी दिए । उनले कोरोना भाइरसका कारण चुनौती भएको र लकडाउनको पालना गर्ने नागरिक धन्यवादको पात्र भएको बताएका छन् ।

५५ वर्षीय प्रधानमन्त्री जोनसन कोरोनाको सङ्क्रमण भएपछि गएको मार्च २६ तारिखमा अस्पताल भर्ना भएका थिए । त्यसअघि उनी आफ्नै निवासमा एकान्तवासमा बसेका थिए । तर स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पतालमा भर्ना गरिएकाे थियो ।

लण्डनको एसटी थोमस अस्पतालबाट उनी गएको अप्रिल १२ तारिखमा डिस्चार्ज भएका थिए । डिस्चार्जपछि डाक्टरको सल्लाहमा उनले केही आराम गरेका थिए ।

बेलायतमा कोरोनाका कारण अहिलेसम्म २० हजारभन्दा धेरै नागरिकको ज्यान गइसकेको छ । एक लाख ५० हजारभन्दा धेरै सङ्क्रमित छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार