काठमाडाैं ।नेपालमा थप एक जना कोरोना सङ्क्रमणको पुष्टि भएको छ । झापाका ५० वर्षका पुरूषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सह-प्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार कोशी अस्पताल, विराटनगरमा भएको परीक्षणको नतिजा अनुसार झापाका ५० वर्षकम पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । १६ जना उपचारपछि निको भएका छन् ।
जोखिमयुक्त क्षेत्रमा नमुना परीक्षणको दायरा बढ्यो : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि परीक्षणको दायरा बढाएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रदेश नम्वर २ मा १५ सय जनाको स्वाब परीक्षण गर्ने लक्ष्य राखिएकोमा अहिले सम्म एक हजार २७ जनाको नमूना परीक्षण गरिसकेको जानकारी दिनुभयो ।
यस्तै, उदयपुरमा ४ सय १३ जनाको नमुना परीक्षण भएको र थप ३ सय २७ जनाको स्वाब संकलन गरि परीक्षणको क्रममा रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । झापामा संक्रमण देखिएका ६२ वर्षका पुरुषको सम्पर्कमा रहेका ५० जनाको स्वाब संकलन पनि भएको छ ।
नेपालमा अहिलेसम्म कोरोनाको आशंकामा पीसीआर विधिमार्फत ९ हजार ९ सय ३१ जनाको परीक्षण भएको छ ।
