बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

प्रवासी बागलुङेले धौलागिरी अस्पताललाई स्वास्थ्य सामाग्री पठाउने, साढे १० लाख रकम संकलन

आइतबार, बैशाख १४ २०७७

यूरोप / प्रवासमा बस्दै आएका बाग्लुङेहरुले गृह जिल्लास्थित अस्पतालको सहयोगार्थ साढे १० लाख रकम संकलन गरेका छन् । बागलुङस्थित धौलागिरी उप–प्रादेशिक अस्पतालमा आवश्यक स्वास्थ्य सामाग्री खरिदका लागि रकम संकलन गरिएको हो ।

विश्वसँगै नेपालमा पनि बढ्दो कोरोना भाइरसको संक्रमणलाई न्युनिकरण गर्नका लागि रकम संकलन गरिएको व्यवासायी एवं बागलुङ सेवा समाज पोर्चुगलका सल्लाहाकार सूर्य हमालले जानकारी दिए । ‘नेपालमा पछिल्लो समय बागलुङको धौलागिरी उप–प्रादेशिक अस्पतालमा कोरोनाकै कारण भर्ना भएका सबै बिरामीहरु उपचारपछि घर फर्किएको खबरले हामी सबैलाई खुसी बनाएको छ ।’ हमालले भने, ‘अस्पतालमा उपचारमा खटिएका स्वास्थ्यकर्मी र बिरामीलाई मध्यनजर गर्दै हामीले स्वास्थ्य सामाग्री खरिदका लागि प्रवासमा रकम संकलन गरेका हौं ।’

स्वास्थ्य सामाग्री खरिद अभियानमा सबै मुलुकमा रहेका बागलुङेले साथ दिएको बाग्लुङ सेवा समाज कतारका संरक्षक राज रेग्मीले जानकारी दिए । स्वास्थ्य सामाग्री खरिदका लागि अहिलेसम्म १० लाख ४१ हजार रकम संकलन भएको छ । बागलुङ सेवा समाज पोर्चुगलका अध्यक्ष प्रेम खड्काका अनुसार पीपीई सय थान, मास्क सय थान, सर्जिकल पन्जा एक हजार थान, हाउस ग्लोभ्स पेयर सय थान, टप्स ग्लोभ्स पेयर पाँच हजार, पीपीई गाउन ७०, सर्जिकल मास्क १० हजार र बुट लगायतका स्वास्थ्य सामाग्री अस्पतालाई पठाइनेछ । ‘सामान खरिदको तयारीमा छ ।’ खड्काले भने, ‘२/३ दिनमा आवश्यक स्वास्थ्य सामाग्री अस्पतालमा पुग्नेछ ।

अभियानमा कति रकम संकलन ?
समाजको यो अभियानमा विश्वभर छरिएर रहेका बाग्लुङेहरुले साथ दिएका छन् । बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटा र बानपा–३ गौडाकोटकी ६५ बर्षीया मनकुमारी पौडेलले कोरोना जितेर फर्किएपछि सबै नेपालीमा खुसीयाली छाएको छ । यसैले पनि प्रवासमा रहेका बागलुङेहरुले अभियानमा साथ दिएका हुन् ।

यसरी अभियानमा साथ दिनेहरुमा बाग्लुङ सेवा समाज पोर्चुगलका सल्लाहाकार सुर्य हमालबाट एक लाख ३० हजार, बागलुङ सेवा समाज कतारका संरक्षक राज रेग्मीबाट एक लाख, बाग्लुङ समाज जापानबाट एक लाख, बागलुङ युवा समाज अष्ट्रेलियाबाट एक लाख, बागलुङ समाज कोरियाबाट ७५ हजार, बागलुङ सेवा समाज कतारबाट ७० हजार, बागलुङ समाज स्पेनबाट ५० हजार, बागलुङ समाज पोर्चुगलबाट ५० हजार, बागलुङ समाज बेल्जियमबाट ५० हजार, बागलुङ सेवा समाज युएईबाट ५० हजार, बागलुङ समाज क्यानडाबाट ५० हजार, बेलायत बस्दै आएका बागलुङबासीबाट ५० हजार संकलन भएको छ ।

यस्तै, अमेरिका बस्दै आएका नवराज पन्तबाट ५० हजार, बागलुङ सेवा समाज मलेसियाबाट ३० हजार, जर्मनी बस्दै आएका राजेश केसी, दीपक खत्री, कृष्ण रिजाल, कृष्ण ढकाल र पदम केसीबाट ३० हजार, नर्वे बस्दै आएका राजन गौचन र बिष्णु गौतमबाट २० हजार, बेलायतका बिक्की सापकोटाबाट १५ हजार, स्विडेनका प्रेम गौतमबाट ११ हजार र फ्रान्स बस्दै आएका ज्योति अधिकारीले १० हजार सहयोग गरेका छन् ।

अभियानको समन्वय स्पेनका पर्यटन सद्भावना दूत एकराज गिरी, सामाजिक अभियन्ता समेत रहेका बेलायतका कृष्ण शर्मा, एनआरएनए कतारका आइसिसी सदस्य रमेश भट्ट, जापानका सिद्धार्थ श्रेष्ठ र दक्षिण कोरियाका राम शर्माले गरेका थिए ।

संकट र अभावका बीच कोरोनासँग पौठेजोरी खेल्दै अस्पताल
पहिलेको धौलागिरी अञ्चल अस्पताल अहिले गण्डकी प्रदेशको पहिलो उप–प्रादेशिक अस्पतालको रुपमा चिनिएको छ । यो अस्पताल गण्डकी प्रादेशिक अस्पताल पोखरा पछिको दोस्रो ठुलो अस्पताल बनाउने पनि तयारी छ । मोफसलको अस्पताल भएर पनि कोरोनालाई जितेको अस्पताल व्यवस्थापन समितिको तर्क छ । उप–प्रादेशिक अस्पतालको लागि मापदण्ड अनुसार भवन निर्माण, वेड क्षमता, डाक्टरको संख्या वृद्धि गर्ने लगायतका काम गर्न बाँकी भइरहेका बेला कोरोनासँग जुध्नु परेको चिकित्सकहरु बताउँछन् ।

भारतबाट आउनेदेखि विदेशबाट आएका यात्रीबाट संक्रमण भित्रिएपछि बागलुङमा जोखिम पनि बढी छ । यो अवस्थामा अस्पतालले आफ्नो नियमित शाख भने जोगाएको छ । साथै कोरोनाबाट नागरिक जोगाउनका लागि अस्पतालले थप साधन स्रोत तथा उपकरण थप गरेको छ । अहिले अस्पतालमा तीन वटा भेन्टीलेटर जडान भएका छन् भने आइसियु कक्ष निर्माणाधिन अवस्थामा छ । अस्पतालमा एक्सरे, भिडियो एक्सरे, डायलायसिस र अपरेशनका सेवा नियमित भइरहेको संलग्न चिकित्सकहरुले बताएका छन् । उप–प्रादेशिक अस्पतालबाट साविक धौलागिरी अञ्चलका चार जिल्लाका नागरिकलाई स्वास्थोपचारमा सहजता मिल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार