काठमाडौँ । नेपालमा अहिलेसम्म पिसिआर र र्यापिड टेस्टबाट कुल ४९ हजार ३३६ जनाको नमुना परिक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पिसिआर विधिबाट ९ हजार ६६६ तथा र्यापिड टेस्टबाट ३९ हजार ३३६ जनाको नमुना परिक्षण भएको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले अहिले देशभर क्वारेन्टाइनमा १४ हजार ७३१ जना रहेको जानकारी दिएका छन् ।
त्यस्तै अहिले आइसोलेसन उपत्यकामा ३ जना र बाहिर ८४ गरि कुल ८७ जना रहेको उनले बताएका छन् ।
नेपालमा आज थप संक्रमित नदेखिएको प्रवक्ता देवकोटाले बताएका छन् ।
शुक्रबार संक्रमण पुष्टि भएका झापा निवासी ६२ बर्षका पुरुषको छोरा गत चैत्र ४ गते दुवईबाट आएको र र्यापिड टेस्टमा उनीसहित परिवारका तीन सदस्यमा पोजेटिभ देखिएको र पछि पिसिआर परिक्षण गर्दा ६२ बर्षिय पुरुषको मात्र पोजेटिभ देखिएको देवकोटाले जानकारी दिए ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । जसमा अहिलेसम्म १२ जना ठिक भएर घर फर्किएका छन् ।
पछिल्लो डिस्चार्ज हुनेमा भरतपुर अस्पतालमा उपचाररत एक जना आज डिस्चार्ज भएका हुन् ।
योसँगै कोशी अस्पताल विराटनगरमा कोरोना संक्रमित ३० जनाको उपचार भइरहेको छ भने त्यस्तै अहिले नारायणी उपक्षेत्रिय अस्पताल वीरगन्जमा ५ जना, भरतपुर अस्पतालमा एक जना र शुक्रराज अस्पतालमा एक जना रहेका छन् ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।