काठमाडौं(जस)–हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले उच्च रुपमा मुनाफा आर्जन गर्न सफल भएका छन् । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी नाफा गर्नेमा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यस्तै निजी क्षेत्रतर्फ नबिल बैंकले सबैलाई पछि पारेको छ । सबैभन्दा कम नाफा गर्नेमा सिभिल बैंक भएको छ । नौ महिनामा सिभिलले ५० करोड ६३ लाख ६९ हजार रुपैयाँ मात्र नाफा गरेको छ । दोस्रोमा नविल, तेस्रोमा नेपाल इन्भेष्टमेन्ट, चौथोमा एनआईसी एसिया र पाँचौमा नेपाल बैंक रहेका छन् । चालू आर्थिक वर्षको ९ महिनामा राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुदनाफा गरेको छ । यस्तै नबिलले ३ अर्ब १९ करोड १० लाख रुपैयाँ नाफा गरेको छ । तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक छ । इन्भेष्टमेन्टले २ अर्ब ५६ करोड ५६ लाख रुपैयाँ नाफा गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । चौथो स्थानमा एनआईसी एसिया बैंक छ । एनआईसी एसियाले २ अर्ब २७ करोड ६४ लाख रुपैयाँ नाफा गरेको छ ।
पाँचौ स्थानमा सरकारको समेत स्वामित्व रहेको नेपाल बैंक छ । नेपाल बैंकले २ अर्ब २४ करोड ५५ लाख रुपैयाँ खुदनाफा गरेको छ । एभरेष्टले २ अर्ब १ करोड ९१ लाख रुपैयाँ खुदनाफा गरेको छ । यस्तै कृषि विकासले २ अर्ब २१ करोड २१ लाख र हिमालयन बैंकले २ अर्ब १ करोड ४० लाख रुपैयाँ खुदनाफा गरेका छन् । दुई अर्ब रुपैयाँभन्दा कम नाफा गर्नेमा ग्लोबल आईएमई बैंकले १ अर्ब ८७ करोड २१ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब ७३ करोड ४४ लाख, एनएमबीले १ अर्ब ६५ करोड ११ लाख, सिद्धार्थले १ अर्ब ६३ करोड ३२ लाख, सानिमाले १ अर्ब ५७ करोड ५४ लाख, प्राइम कमर्शियलले १ अर्ब ५४ करोड, प्रभुले १ अर्ब ४५ करोड २१ लाख तथा सनराइज बैंकले १ अर्ब २५ करोड रुपैयाँ नाफा गरेका छन् । यस्तै माछापुच्छे बैंकले १ अर्ब २४ करोड ३३ लाख, मेगाले १ अर्ब २१ करोड १४ लाख, बैंकअफ काठमाण्डूले १ अर्ब २० करोड ४६ लाख, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी)ले १ अर्ब १६ करोड ४० लाख, नेपाल बङ्गलादेशले १ अर्ब १४ करोड १४ लाख, सिटिजन्सले १ अर्ब ७ करोड ५३ लाख, लक्ष्मीले १ अर्ब २ करोड ९६ लाख, जनताले १ अर्ब २ करोड २७ लाख, कुमारीले १ अर्ब १ करोड ३२ लाख तथा सेञ्चुरी कमर्शियल बैंकले ६१ करोड ३० लाख रुपैयाँ नाफा गरेका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचीकृत २७ वाणिज्य बैंकमध्ये सबैभन्दा महंगो सेयर नविल बैंकको रहेको छ । यस्तै सबैभन्दा कम सेयर मूल्य हुनेमा सिभिल बैंक देखिएको छ । बजार पुँजीकरणमा पनि नविल नेपाल टेलिकमपछि दोस्रो स्थानमा छ । नविलको सेयर मूल्य प्रतिकित्ता ८४१ रुपैयाँ छ । यस्तै सिभिलको मूल्य फेसभ्यालु नजिक अर्थात १५२ रुपैयाँ रहेको नेप्सेले जनाएको छ । वाणिज्य बैंकको सेयर मूल्य १ हजार रुपैयाँ भन्दा कम रहेको छ । ५०० रुपैयाँ भन्दा माथि सेयर मूल्य हुनेमा ५ ओटा वाणिज्य बैंक छन् । नविलपछि स्ट्याण्डर्ड चाटर्डको ६९०, एभरेष्टको ६६५, हिमालयनको ५७८ र नेपाल इन्भेष्टमेन्ट बैंकको ५६२ रुपैयाँ सेयर मूल्य रहेको छ । यस्तै सेयर मूल्य २०० रुपैयाँ भन्दा कम हुनेमा सिभिलको अतिरित्त सेन्चुरी कमर्शियलको १७६ र मेगाको १९३ रुपैयाँ छ ।
पछिल्लो समयमा सेयर बजारमा सुधार आएपछि धेरै बैंकको सेयर मूल्य बढेर २०० रुपैयाँ माथि पुगेको छ । २०० देखि ५०० रुपैयासम्म सेयर मूल्य हुने बैंकको संख्या धेरै छ । यस रेन्जमा सेयर मूल्य हुनेमा एनआईसी एसियाको ४८८, नेपाल एसबीआईको ४८३, कृषि विकासको ३८८, बैंकअफ काठमाण्डुको २७६, सिटिजन्सको २२४, ग्लोवल आईएमई बैंकको ३१० रुपैयाँ रुपैयाँ रहेको नेप्सेले जनाएको छ । यस्तै जनताको २०४, कुमारीको २२३, लक्ष्मीको २२९, माछापुच्छे«को २६६, नेपाल बंगलादेशको २२८, नेपाल बैंकको ३१२, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) को २४६, एनएमबीको ३८०, प्रभुको २८१, प्राइमको ३५५, सानिमाको ३५६, सिद्धार्थको ३४२ र सनराइज बैंकको २५३ रुपैयाँ रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणलाई सेयर निष्कासन गरेको छैनन् । एनसीसी बाहेक सबै बैंकले चुत्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याएका छन् ।