काठमाडौं । काठमाडौंको काँडाघारीस्थित पेप्सिकोलामा रहेको सनसिटी अपार्टमेन्टमा आज (बुधबार) परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
एकै परिवारका दुई जनामा कोरोना संक्रमण देखिएपछि आज अपार्टमेन्टको ब्लक ए मा बस्ने सबैको र्यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो । संक्रमित बस्ने ब्लक ‘ए’ का २ सय ९८ जनाकै र्यापिड टेस्टको नतिजा नेगेटिभ आएको हो।
अपार्टमेन्टमा संक्रमित भनिएकाहरु २८ दिनअघि बेलायतबाट फर्किएका थिए । सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये दुई जना (छोरा र आमा) को रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एक (बुहारी) को भने नेगेटिभ रिपोर्ट आएको छ।
संक्रमित दुई जना पाटन अस्पतालको आइसोलेसनमा छन् भने नेगेटिभ नतिजा आएकी महिलाको दोस्रो चरणमा परीक्षण हुनेछ। उनी पनि अस्पतालमै छिन्।
सनसिटीमा पाँचवटा विल्डिङ छन् । यी सबै ब्लकमा गरेर करिब पाँच सय परिवारका झण्डै दुई हजार मानिसको बसोबास छ। अहिले कोरोना संक्रमण देखिएको परिवार ‘ए’ बिल्डिङमा बस्दै आएका थिए । र्यापिड टेष्टमा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अपार्टमेन्टलाई प्रहरीले शील गरेको छ । त्यहाँ रहेका मानिसहरुलाई बाहिर जान दिइएको छैन ।