बिनिका श्रेष्ठ
जब म सानै थिए, शिक्षकले मलाई सोध्नु भयो ‘नारी भएकोमा तिमी कस्तो महसुस गर्छौ?’ त्यति बेला मेरो सानो दिमागले केही प्रतिष्ठित केही महिलाहरुको अनुहार जस्तै,मदर टेरेसा, मेडम क्युरी, मलाला सम्झिए । अनि मैले गर्बका साथ भने, ‘म नारी हुनुमा गर्ब महसुस गर्छु सर ।’ जब म अलि ठुली भए, संसारलाई जान्न सक्ने भए, त्यही प्रश्न आफुलाई आफैले सोध्न मन लाग्यो, ‘के म साच्चै नारी हुनुमा कस्तो महसुस गर्छु ?’ जबाफमा म सन्झन्छु–एसिडले बिग्रेका अनुहारहरु सम्झन्छु, रजस्वला भएको बेलामा छाप्रोमा रुदै बसेका जीवनहरु सम्झन्छु,आफ्नै दाजुभाइ, काका, बाबुहरुबाट लुटिएका अस्मिताहरु सम्झन्छु,कोठीमा झेरेका आँसुहरु सम्झन्छु । दाइजो प्रथाका कारण जीवन गुमाइरहेका महिलाका लासहरुलाई सम्झन्छु, अनि सम्झन्छुस फेरि उहीँ मदर टेरेसा, फ्लोरोसेण्ट नाइटेङ्गल जस्ता सुपरहिट हिरोहरु । त्यति बेला म दुखी हुँ, या मुस्कुराउ । म मानसिक द्वन्दमा छु ।

हाम्रो समाजमा छोरा र छोरीमा ठूलो भेदभाव छ । छोरी जन्मदा पुन्पुरोमा हात राख्ने समाज छोरा जन्मदा भोज,भतेरको लर्को हुने गर्दछ । हाम्रो समाजमा छोरीलाई खाना बनाउन सिकाइन्छ, चुलो चौकी, भाडा माझ्न सिकाइन्छ । तर छोरालाई घरायसी काम गर्न सिकाइदैन । छोरा जहाँ जाउ जे गर मतलब छैन । तर छोरीलाई छोरासग बोल्न समेत मापदण्ड तोकिन्छ । छोरा रोएको सुँहाउँदैन रे, अनि छोरीको आँखामा आँसु सुँहाउछ अरे, जब एउटा महिला साँझ, बिहानै घर फर्किन्छन, बाटोमा बन्यजन्तु भन्दा पनि बढी डर पुरुषको हुन्छ । अनि उनलाई डर घर पुगेपछी आमा बुबाका बिभिन्न खाले प्रश्न हुन्छ । आमा बुबाले भन्नुहुने छ?तेरो चाला ठिक छैन छोरी! के यहि हो घर आउने समय? केटि मान्छे भएर राती राती हिड्न सुहाउँदैन । (लाज लाग्दैन),यस्तो बेलामा आमाबुबा प्रती रिस उठेर आउँछ । तर कुरा अर्को पनि छ । सायद उहाँहरुले आफ्नो छोरीको बढी माया,स्याहार गरेको हुनुपर्छ ।
आफ्नो छोरीको अस्मिता नलुटियोस,एसिडले छोरीको अनुहार नबिग्रीयोस भन्ने सोचेर पनि हुनुपर्छ । तर किन छोरा र छोरी यति धेरै भेदभाव हुन्छ? छोरीलाई पनि छोरालाई जस्तै बलियो बनाउन किन सिकाइदैन? किन सिकाइदैन, छोरीलाई साझपख बलियो भइ हिड्न? किन सिकाइदैन, छोरीलाई छोरा जस्तै गरि हास्न अनि बोल्न? अनि किन सिकाइन्छ छोरीलाई सभ्य र नरम हुन । संसारमा नारीको सख्या हेर्ने हो भने पुरुष भन्दा बढी छ । तर पनि महिला माथी उठ्न सकेका छैनन् । महिलाको स्थान ठूलो ढुगाले चेपिएको माटो जस्तो छ । नारी सदैब दबिएको दबै अब कहिले सम्म ? गल्ती कस्को? विभिन्न नचाहिने शुत्र रगट्ने यो असमानता समाजको या आफुलाई कमजोर सम्झने हामी नारीहरुको, यति बेला म फेरि समाज बदल्ने पारिजात, अनुराधा कोइराला, पुष्पा बस्नेत जस्ता नारीहरु सम्झन्छु ।
अनि,
फेरि शिर माथी उठाउछु,
मुस्कुराउछु,
छाती फुलाउछु,
नारी हुनुमा गर्व गर्छु ।
तर महिला मात्रै दुखी छैनन्, यो असमानता समाज देखि । पुरुष पनि दिक्क छ्न । आँसु दुखको आभास हो । आँसु मन हलुका बनाउने साधन हो । महिला पुरुष दुबै मानव हुन् । दुखको बेला सबैको मन दुख्छ । आँसु आउँछ । आँसु आउनु स्वाभाविक हो । तर समाजले पुरुषलाई आँसु लुकाएर कठोर र स्पष्ट बन्ने आदेश दिन्छ । कतिपय पुरुषको स्वभाव नै लजालु हुन्छ । तर उनिहरुले लाज मान्दा महिला जस्तो भनेर जिस्क्याउछ्न । लाज मान्नु महिलाको स्वभाव अनि कठोर बन्नु पुरुषहरुको स्वभाव । कस्तो संरचना हो? हाम्रो समाजको । म बुझ्न सक्दिन । महिला पुरुष दुबैलाई सम्मान गर्न सिक । सिकाउ दुबैलाई बलियो बन्न । सिकाउ छोरी जन्मदा पनि भोज भतेर लगाउन । सिकाउ पुरुष पनि, सिकाउ हरेक महिलाहरुलाई कि तिमि उठ्नु पर्छ । केही गर्नु पर्छ भनेर, अनि गर प्रतिस्पर्धा महिला र पुरुष बिच हैन, एउटा ब्याक्ती(मानिस) र अर्को ब्याक्ती( मानिस) बिच ।
तर जे बोल्यो, त्यो पूरा हुन सक्दैन । जे लेख्यो त्यो परिपुर्ति हुदैन । समाज एक क्षणमा बदलिन सक्दैन । अझ नारी नराम्रोबाट राम्रो बन्न कयौ बर्ष लाग्नेछ । त्यति बेलासम्म त म जस्ता हजारौं नारीहरुले जन्म लिइसकेका हुनेछन् । पासाङलामु शेर्पा,सीता, भृकुटीको गर्व सेलाउने छ । एउटा नारीको सफलतामा मुस्कुराउने म अर्को नारीको बेदना सुनेर मेरो खुशीको भाव एकछिनमा बिलाइ जानेछन् । यस्तो बेला मलाई लाग्छ कि यो प्रश्न मलाई कसैले नसोधियोस,किनकी मसग जबाफ छैन !
फ्लोरोसेन्ट हाइस्कुल गोगबु, काठमाडौ (कक्षा–११)