काठमाडौं(जस)–डायस्पोरामा रहेका नेपालीले पनि स्वदेशमा रिलिज भएकै दिन नयाँ नेपाली फिल्म हेर्न पाउने भएका छन् । नेपाली फिल्म तथा संगीत क्षेत्रको डिजिटल अधिकार खरिद गर्दै आएको कम्पनी ओएसआर डिजिटलले ‘भिडियो पसल’ नामक एप्समार्फत सो सुविधा उपलब्ध गराएको हो । एप्समार्फत नेपाल रिलिजकै मितिमा विदेशका दर्शकले पनि शःशुल्क फिल्म हेर्न पाउने व्यवस्था मिलाएको छ । पहिले नेपालमा फिल्म रिलिज हुँदा एकसाथ विदेशमा प्रिमियर हुँदा मात्र सिमित समयमा सिमित दर्शकले फिल्म हेर्ने अवस्था थियो । अहिले भने पाइरेसीको कुनै अवसर नहुनेगरी एकपटक पैसा तिरेपछि हप्ताभरि जुनकुनै समयमा पनि फिल्म हेर्न पाउने गरी भिडियो पसलको सुरुवात गरिएको छ ।
एन्ड्रोइड र आएओएस (एप्पल) दुबै कम्पनिको मोबाइलको प्ले स्टोरमार्फत डाउनलोड गर्न सकिने एप्समा १ देखि ३ डलरसम्म मात्रै शुल्क तिर्दा ग्रेड अनुसारका फिल्म हेर्न मिल्नेछ । सुरुवाती चरणमा पछिल्लो क्रममा रिलिज भएका फिल्म ‘क्याप्टेन’, ‘ब्रेकअप’ ‘प्रसाद’ एप्समा उपलब्ध हुने ओएसआर डिजिटलका रुपेन्द्र खड्गीले बताए । उनले थपे, ‘फिल्मको निर्माण कम्पनीसँगको आपसी सम्झौतामा अधिकार खरिद गरेर उपलब्ध भएसम्म हरेकजसो फिल्म नेपाल बाहिरका दर्शकले एकै मितिमा हेर्न पाउने व्यवस्था मिलाउँदै जानेछौँ ।’ नेपाली फिल्मको बजार विश्वव्यापी बन्दै गर्दा सुरु भएको यो प्रकारको प्रविधिले निर्माताहरुलाई व्यापारिक रुपमा राहत मिल्ने देखिएको छ ।