दोहा(जस)–नेपाली कामदारको आकर्षक गन्तब्यको रुपमा रहेको खाडी मुलुक कतारमा अहिलेसम्म नेपालीहरु कोरोना संक्रमणबाट सुरक्षित रहेका छन् । पछिल्लो समय चीनको वुहानबाट फैलिएको नोभेल कोरोना भाइरस (कोभिड–१९) को प्रकोप अहिले खाडी मुलुकमा पनि देखिएसँगै कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई कतार प्रवशेमा प्रतिबन्ध लगाएको छ । यस्तोमा कतारमा रहेका झण्डै ४ लाख नेपाली कामदारबारे नेपालमा चिन्ता बढेको छ । कतारमा अहिलेसम्म नेपालीहरु कोरोना संक्रमणबाट सुरक्षित रहेको कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्धाजले बताए । जनसवाल दैनिकसँगको कुराकानीमा राजदूत भारद्धाजले कतारमा रहेका सबै ३ लाख ५१ हजार कामदार कोरोनाको संक्रमणबाट सुरक्षित रहेको जानकारी दिए ।
यस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए) का सचिव आरके शर्माले पनि कतारमा रहेका नेपालीहरुमा कोरोनाको कुनै संक्रमण रहेको जानकारी अहिलेसम्म प्राप्त नभएको बताए । शर्माले एनआरएनएले समेत कतारमा रहेका नेपालीहरुबारे नजिकबाट विश्लेषण गरिरहेको जनाउँदै कतारमा बस्ने नेपाली आत्तिनुपर्ने अवस्था नरहेको बताए । शर्मा लामो समयदेखि कतारमा व्यवसाय सञ्चालन गर्दै आएका प्रतिष्ठित नेपाली व्यवसायीको रुपमा परिचित छन् ।
पछिल्लो समय कतारमा कोरोना संक्रमित बिरामी भेटिएपनि यहाँ रहेका नेपाली आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै शर्माले सतर्कता भने अपनाउन आगैह गरे । ‘खाडी देशहरुले कोरोना नियन्त्रण गर्न विशेष सावधानी अपनाएका छन् । विश्वलाई चुनौती दिइरहेको कोरोनाको सामना गर्न कतार लगयातका खाडी मुलुकले विशेष किसिमले लागिरहेका छन् । खाडीमुलुकमा यसको मृत्युदर शुन्य छ । त्यसैले पनि अत्तालिएर मनोवल गिराउन हुँदैन ।’ शर्माले भने ।
शर्माका अनुसार अहिले कतारका निर्माणधीन ठूला ठूला प्रोजेक्टहरुमा पनि सावधानी अपनाउन थालिएको छ र मजदूरहरुलाई कार्यक्षेत्रमै संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानीको बारेमा जानकारी गराइएको छ । त्यस्तै श्रमिक क्याम्पहरुमा पनि सचेतना दिंदै आइएको शर्माले जानकारी दिए ।
कतारले संक्रमणको फैलावटलाई रोक्न विभिन्न प्रयास गरिरहेको छ । यस्तो अवस्थामा नेपालीहरु आफै पनि सजग रहनु पर्ने शर्माको भनाइ छ । अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन उनको सुझाव छ । ‘यो अवस्थामा व्यापारिक मल तथा भीडभाड हुने ठाउँमा नजाऔँ । नभइनहुने चीजहरु खरिद गर्न मात्रै बाहिर निस्कौँ । आफ्नो सुरक्षा आफै गरौँ,’ शर्मा सचेत गराउँछन् । शर्माले कतारमा बस्ने नेपालीलाई विश्वासिला सञ्चार माध्यमका समाचारहरु पढ्न पनि सुझाव दिएका छन् । अफवाह फैलाउने खालका समाचार पढेर तथा शेयर गरेर अरुलाई त्रसित नबनाउन उनको आग्रह छ ।
कोरोनाबाट सबै नेपालीलाई साबधानी अपनाउन एनआरएनए मध्यपुर्व संयोजक प्रविन गुरुङ्गले आग्रह गरे । उनले कोरोनाबाट बच्ने प्रमुख उपाय भनेको सुरक्षा र आफै साबधानी हुनु नै भएको बताए । गुरुङ्गले कतार लगायत मध्यपुर्बमा रहेका सबै नेपालीलाई साबधानी अपनाई नआत्तिन समेत अनुरोध गरेका छन् ।

यहाँको स्वास्थ्य मन्त्रालका अनुसार कतारमा हालसम्म २ सय ६२ जनामा संक्रमण देखिएको छ । यसअघि कोरोना संक्रमणको प्रकोपलाई फैलन नदिन भन्दै कतार सरकारले १४ देशका नागरिकलाई प्रवेश निषेध गरेको थियो । महामारीको रुप लिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालसहित, भारत, चीन, इजिप्ट, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई अस्थायी रूपमा प्रवेशमा रोक लगाएको हो । त्यस्तै स्कुल, कलेजहरु पनि बन्द गराएको छ । नेपाल सरकारले पनि कतार जाने कामदारको लागि श्रम स्वीकृती दिन बन्द गरेको छ ।
