आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

तालिबान युद्धबन्दी लडाकूलाई अहिल्यै छाड्न सकिन्न : अफगान राष्ट्रपति

आइतबार, फाल्गुन १८ २०७६

काबुल, अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले सात दिने आंशिक युद्धबिराम जारी रहने बताउनु भएको छ तर उनले अमेरिका–तालिबानबीच सम्पन्न नयाँ सम्झौताको प्रमुख अङ्शका रुपमा रहेको हजारौँ तालिबानी विद्रोही बन्दीलाई रिहा गर्ने निर्णय अफगान सरकारलाई अस्वीकार्य रहेको बताए । शनिबार दोहामा अमेरिका र तालिबानबीच सम्पन्न ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुनुअघिको हप्तासम्म “हिंसामा कमी” आएको थियो ।
सम्झौतामा मुख्यरुपमा अमेरिकीसमेत सबै विदेशी सैनिक १४ महिनाभित्र स्वदेश फर्किने उल्लेख छ । यसको बदलामा तालिवानले धेरै प्रतिज्ञालाई सम्मान गर्नु पर्नेछ भने अझ विस्तृत शान्ति सम्झौताका लागि काबुलसँग वार्ता गर्नु पर्नेछ । “पूर्ण युद्धविरामको अवस्था सिर्जना गर्न हिंसामा कमी आउनु पर्नेछ,” काबुलमा आयोजित पत्रकार सम्मेलनमा घानीले भने । “जनरल स्कट मिलरले तालिवानलाई यही गर्न सल्लाह दिनुभएको छ । यो अवस्थाले निरन्तरता पाउने अपेक्षा गरिएको छ,” अफगानिस्तानमा तैनाथ विदेशी सेनाका संयोजक अमेरिकी कमाण्डरतर्फ देखाउँदै राष्ट्रपति घानीले भने ।
शान्तिको मार्गमा गतिरोध ल्याउन सक्ने एउटा बुँदातर्फ ध्यानाकर्षण गर्दै घानीले सम्झौताका शर्त निकै विवादस्पद रहेको बताए । सम्झौताको एउटा धारामा तालिबानले बन्धक बनाएका एक हजार सरकारी सैनिक र सरकारी कारागारमा थुनिएका करिब पाँच हजार तालिबानी लडाकूलाई रिहा गर्नुपर्ने उल्लेख छ । “पाँच हजार तालिबानी बन्दीलाई रिहा गर्ने प्रतिबद्धतामा अहिल्यै सहमत हुन सकिन्न,” घानीले भने । “यो अफगानिस्तानका जनताको अधिकार र आत्मनिर्णय हो । यस विषयलाई अन्तर–अफगान वार्ताको समयमा एक एजेन्डा बनाउनु पथ्र्यो, र वार्तामा यसलाई पूर्वशर्तका रुपमा लिन सकिन्न ।”
उनले कुनै पनि बन्दी रिहाई गर्ने कुरा “अमेरिकी अधिकारको विषय होइन, यो अफगान सरकारको अधिकार क्षेत्रभित्रको कुरा हो” भने । राष्ट्रपति घानी तालिवान र अफगान सरकारबीच हुने वार्तातर्फ सङ्केत गर्दै थिए । यो वार्ता पनि अमेरिका–तालिबानबीचको सम्झौताको एक हिस्साका रूपमा स्वीकार गरिएको छ ।
तालिबानीले अहिलेसम्म घानीको प्रशासनसँग वार्ता गर्न अस्वीकार गरिरहेको थियो । उनीहरूले अफगान सरकारलाई अमेरिकी कठपुतली शासनका रूपमा लिएका थिए । राष्ट्रपति घानीको बन्दी रिहाइसम्बन्धी प्रश्नले आगामी दिन निकै कठिन हुने सङ्केत गरेका छन् । महिनौं ढिलाई गरेर गत साता घोषणा गरिएको घानीको राष्ट्रपति पदमा पुनः विजयलाई अमेरिकाले अझै मान्यता दिएको छैन भने मुख्य प्रतिस्पर्धी अब्दुल्लाअब्दुल्लाले पनि चुनावमा धाँधली भएको आरोप लगाउँदै घानीलाई अस्वीकार गर्ने यसअघि नै घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार