शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सरकारविरुद्ध चलखेल सह्य हुँदैन : प्रम ओली

सोमबार, फाल्गुन ५ २०७६

दमक(जस)–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शुरु गरेको विकास र समृद्धिको कामलाई देखेर देशी, विदेशी तथा प्रतिक्रियावादी शक्तिहरुबाट चलखेल भइरहेको बताएका छन् । झापाको दमक–चिसापानी (रवि) कालोपत्र सडकको आइतबार यहाँ शिलान्यास समारोहमा उनले विकास र समृद्धि नचाहने शक्ति सरकारलाई चारैतिरबाट कमजोर बनाउन उद्यत भएको बताए । त्यस्ता चलखेलविरुद्ध वर्तमान सरकार निर्धक्कका साथ जुधिरहेको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताको सरकार भएकाले त्यस्ता प्रतिक्रियावादी शक्तिहरुसँग जुध्न सक्षम भएको र सरकारविरुद्धका त्यस्ता चलखेल सरकारलाई सह्य नहुने उल्लेख गरे । आफू देश समृद्धि बनाउन लडाइँको मैदानमा भएको बताउँदै उनले भने, “सुशासन कायम गरेर देशलाई विकास र समृद्ध बनाउन कसैले रोकेर रोक्न सक्दैन ।”
सरकार बनेको दुई वर्षमा उल्लेखनीय प्रगति भएको जिकिर गर्दै उनले देशलाई समृद्धि बनाउने द्रुत काम लक्ष्यअनुसार पूरा हुनेछ भने । प्रम ओलीले अहिले देशले काँचुली फेर्दै गएको भन्दै विकासको विरोध होइन सँगै काम गरेर अघि बढ्नुपर्ने खाँचो रहेको अऔंल्याए । देशले द्वन्द्व होइन शान्ति र समृद्धि चाहेको उल्लेख गर्दै उनले अब परिवर्तनका नाममा गरिने हिंसा र आन्दोलन गर्नुपर्ने दिन सकिएको बताए । देशमा सडक बालबालिका, सडकमा मागिहिँड्ने वृद्धवृद्धा मुक्त देश बनाउन काम शुरु भएकाले त्यसले साकार रूप लिने उनको भनाइ थियो ।
फरक प्रसङ्गमा प्रम ओलीले सरकारी तथा सार्वजनिक सम्पत्ति कब्जा गर्ने कार्यमा कसैलाई छुट नभएको र त्यस्ता गलत कार्यमा संलग्न भए सरकारले कारवाही गर्ने बताए । जग्गाविहीन सुकुम्वासीलाई सरकारले घर बनाइदिने भन्दै उनले सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउने काम शुरु भइसकेको जानकारी दिए । दमक–३ स्थित वेलडाँगीमा आयोजित शिलान्यास समारोहमा संविधानसभाका अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अब देशले विकासको फड्को मार्दै गएकाले सरकारको लक्ष्य सुखी नेपाली, समृद्ध नेपालले सार्थकता पाउने बताए ।
शिलान्यास समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईलगायतले समेत बोलेका थिए । आइतबारै प्रम ओलीले दमक नगरपालिकाद्वारा निर्माण भएको दमक–१ स्थित एकीकृत नमूना बस्ती मनमाया राईलाई साँचो दिएर समुदायलाई हस्तान्तरण गरेका थिए । दमक नगरपालिका, प्रदेश र केन्द्र सरकारको करीब रु चार करोड लगानीमा २३ वटा घरसहितको नमूना बस्ती निर्माण भएको नगरपालिकाले जनाएको छ । यसअघि उनले दमकको कृष्णमन्दिरदेखि वेलडाँगी जोड्ने कालोपत्र सडक र दमक र मोरङको मिक्लाजुङ जोड्ने मावा खोलाको पुलको उद्घाटन गरेका थिए ।
भूटानी शरणार्थीले मुक्ति पाए ः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो देश पुनर्वासले नेपाली भाषी भूटानी शरणार्थीले कष्टकर जीवनबाट मुक्ति पाएको बताएका छन् । झापाको दमकमा आइतबार आयोजित एक कार्यक्रममा उनले तेस्रो मुलुक पुर्नावासले भूटानी शरणार्थीलाई सुखी बनाएको बताए । तेस्रो देश पुनर्वासको पहल थाल्दा कतिपयले विरोध गरेको स्मरण गर्दै उनले अहिले विभिन्न सम्पन्न मुलुकमा पुगेका शरणार्थीको जीवनस्तर उक्सिएको बताए ।
विभिन्न दाताले दिएको भरमा जीवन चलाउनुपर्ने बाध्यताबाट शरणार्थीले मुक्ति पाएको भन्दै उनले जीवनस्तर सहज बनेपछि र तिनका सन्तानले राम्रो शिक्षा पाएपछि आप्mनो मुलुक फर्किने प्रक्रिया आपैmँ शुरु गर्नसक्ने अवस्था आउने बताए । पहिला भूटानी शरणार्थी शिविर रहेकै ठाउँमा बनाइएको मञ्चबाट सम्बोधन गर्दै उनले तेस्रो देश गएर बाँकी रहेका शरणार्थीको पनि दिगो समाधान गर्न सरकार लागिरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार