काठमाडौँ(जस)–शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले फ्रेन्ड्स क्लबमाथि सानदार जीत हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको पहिलो खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । एपिएफको जीतमा आशिष लामा र प्रवीन स्याङतेनले दुई÷दुई गोल गरे भने कप्तान टोपबहादुर विष्टले थप एक गोल गरे । पराजित फ्रेन्ड्स क्लबका लागि विश्व अधिकारी र फिलिपे डी सौजाले एक एक गोल गरे ।
खेलको १२ औँ मिनेटमा आशिषले गोल गर्दै एपिएफलाई शुरुआती अग्रता दिलाए । खेलको ४० औँ मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई २–० को अग्रता दिलाए । खेलको ६९ औँ मिनेटमा फिलिपेले गोल गर्दै फ्रेन्ड्सलाई २–१ को स्थितिमा ल्याए । खेलको ७१ औँ मिनेटमा प्रवीनले गोल गर्दै एपिएफलाई ३–१ को अग्रता दिलाए । ७६ औँ मिनेटमा फ्रेन्ड्सका विश्वले गोल गर्दा खेल ३–२ को स्थितिमा पुग्यो ।
त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा एपिएफले लगातार दुई गोल गर्यो । जसमा कप्तान टोपबहादुरले गोल गर्दै एपिएफलाई ४–२ को अग्रता दिलाए भने प्रवीनले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई ५–२ को सानदार जीत दिलाए ।
जारी लिगमा यो एपिएफको दोस्रो जीत हो । जीतसँगै एपिएफले १२ खेलमा आठ अङ्क जोडेको छ । एपिएफ १३ औँ स्थानमा छ । पराजित फ्रेन्ड्स १२ खेलमा १४ अङ्क जोडेर लिगको नवौँ स्थानमा रहेको छ । खेलमा एपिएफका आशिष लामा म्यान अफ दि म्याच घोषित भए ।
सरस्वती रेलिगेसनमा
सरस्वती युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ । लिग अन्तर्गत १२ औं चरणको खेलमा सोमबार च्यासलसँग पराजित भएपछि सरस्वती ‘बी’ डिभिजनमा घटुवा भएको हो । ‘ए’ डिभिजन रहनका लागि च्यासलसँग जित्नै पर्ने खेलमा सरस्वती पराजित भयो । च्यासलको जितमा जापानी खेलाडी ताइगा नाकामुरा र हायातो वाकिनोले एक–एक गोल गरे । सरस्वतीका काजिम बुसारीले एक गोल फर्काएका थिए ।
नकामुराले १८ औं मिनेटमा गोल गर्दै च्यासललाई अग्रता दिलाए । ६६ औं मिनेटमा वाकिनोले गोल गर्दै च्यासलको अग्रता दोब्बर बनाए । सरस्वतीले दोस्रो हाफको इन्जुरी समयमा सान्त्वना गोल फर्काएको थियो । सरस्वतीका काजिम बुसारीले एक गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् । च्यासलका नाकामुरा म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । यस हारसँगै सरस्वती एक खेल अगावै रेलिगेसनमा परेको छ । अन्तिममा रहेको सरस्वतीले १२ खेलबाट चार अंक बनाएको छ । १५ अंक बनाएको च्यासल नवौं स्थानमा छ ।